प्रदिपको काम हतारमा लतार भयो भने ?

अभिनेता प्रदिप खड्का काम गर्ने मामालामा व्यवसायिक छन् । उनले काम गरेका फिल्मका लागि उनी पब्लिसिटीमा पनि दिनरात नभनी लाग्छन् । फिल्मका लागि महिना भन्दा धेरै समय दिने प्रदिपको यस्तै बानीले उनको फिल्मलाई फाइदा पनि भएको छ ।

तर, यसपटक भने प्रदिप आफ्नो सेड्यूल र तरिका भन्दा बाहिर छन् । उनले काम गरेको फिल्म रोज भदौ २२ गतेबाट रिलिज हुँदैछ । तर, यसपटक उनले फिल्मको प्रचारका लागि अघिल्ला फिल्म जस्तो तरिका अपनाउन पाएका छैनन् । किनकी, फिल्म रिलिज हुन भन्दा १० दिन अघिसम्म पनि उनी छायांकनमै व्यस्त छन् । फिल्मको छायांकन नसकिएकाले पनि प्रदिप त्यता ध्यान दिन बाध्य छन् । यसैले उनीसँग मिडिया र दर्शकका लागि दिने समय छैन ।

प्रदिप राजधानी बाहिरको कन्सर्टमा जान भ्याएका छैनन्, नयाँ गीतको छायांकन बल्ल भैरहेको छ । यसैले यो गीत सार्वजनिक हुन पनि समय लाग्छ होला ।

प्रदिप खड्काको यो काम गराइले कतै उनलाई नै घाटा लाग्ने पो हो कि ? किनकी, प्रदिपको विशाल प्रचार शैलीको दर्शकलाई बानी परिसकेको छ । भदौ २२ मै फिल्म ल्याउन भनेर काम गर्दा हतारको काम लतार पो हुने हो कि ?