मनिषाले अरुलाई छोडेर मलाई रोजिन् – कलाकार प्रकाश अधिकारी

- मेराेफिल्म

एमए पढ्दा पढ्दै फिल्म क्षेत्रमा होमिएका कलाकार हुन प्रकाश अधिकारी । उनले फिल्म ‘अन्याय’बाट डेब्यु गरेका थिए । मनिषा कोइरालाका पहिलो हिरो भनेर चिनिएका अधिकारीलाई कतिपयले ‘माया के होला’ गीतबाट पनि चिन्ने गरेका छन् । उमेरले डाँडा काटे पनि अझै फिल्ममा हिरो बनेर देखिन चाहने उनै कलाकार प्रकाश अधिकारीसँग मेरोफिल्मले गरेको कुराकानी :

पछिल्लो समयको व्यस्तता ?

मैले एक बर्ष अगाडी निर्देशक सम्भु प्रधानको ‘रङ्ग बैजनी’ भन्ने फिल्म गरेको थिएँ । त्यसपछी फेरी मैले ग्याप गरेँ । म आफ्नै काममा ब्यस्त भएको थिएँ । अहिले मैले ‘यात्रा’ भन्ने फिल्म गरिरहेको छु । यात्रामा पनि मैले राम्रै रोल पाएको छु ।

तर मेरो भित्री इच्छा चाहिँ के हो भने उमेरले जति डाँडा काटेपनि हिरो बन्ने सोख भईरहँदो रहेछ । हिरो बन्न मन छ फेरी पनि । तर कथाले माग्दैन । अब मैले पाउने भनेको क्यारेक्टर रोल हो । फिल्ममा आउनु भन्दा अगाडीदेखि गीत गजल लेख्थेँ । अहिले पनि त्यसलाई निरन्तरता दिइरहेको छु । त्यसमै ब्यस्त छु ।

जुन समयमा यहाँले फिल्मी करियर सुरु गर्नुभएको थियो त्यो समयमा फुटेज कलाकार हुन्थ्यो रे, आज डिजिटल युगमा रि-टेक गर्ने कलाकारसम्म आईपुग्नु भएको छ । समग्रमा फिल्म क्षेत्रको अनुभव कस्तो रहयो ?

हो, हो पहिले रिलमा खिचिन्थ्यो फिल्म । सिन एक टेक मै ओके गर्नु पर्ने हुन्थ्यो । सकेन भने फुटेज कलाकार भनेर गिज्याउँथे । अहिले त्यस्तो छैन । प्रविधि परिवर्तन भएको छ, यसले धेरै सजिलो पनि भएको देख्छु । त्यो बेला हामी फिल्म सुटिङमा छौँ भन्दा पनि पारिवारिक भेटघाटमा छौँ जस्तो लाग्थ्यो । परिआएको बेलामा एकले अर्कालाई सहयोग गर्थ्यौँ ।

तर अहिले जमाना फरक छ, जमाना धेरै फास्ट भैसकेको छ । अब मानिसहरु धेरै बिजी भइसके, मान्छेहरुलाई आफुलाई दिएको काम भन्दा अरु गर्ने फुर्सदै छैन । त्यो बेला भिन्दै किसिमको मिठास थियो, आज मानिसहरु निकै बिजी छन् त्यहाँ पनि भिन्दै किसिमको मिठास छ । त्यो बेला हामी सुटिङ फ्लोरमा गएदेखि नै एउटा पारिवारिक माहोलमा बस्थ्यौँ ।

तर पछिल्लो समय यो कम भएको देख्छु । पहिला एउटा कलाकारले बर्षमा एउटा मात्रै फिल्म खेल्थे तर आजभोली त एउटै कलाकारले महिनामा ४-५ वटा फिल्म खेलिरहेको देख्छु । एउटा कलाकार धेरै फिल्मसँग अनुबन्धित हुन थाले । त्यसले गर्दा पारिवारिक माहोल देखिन छोडेको छ । अब त्यसलाई के भन्ने ? सेल्फिस भन्ने या के ? उहाँहरुसँग समय नभएर हो कि ? कहीँ कतै मलाई चाँही केही न केही खड्केको जस्तो अनुभव नभएको भने होईन ।

प्रविधि त परिवर्तन भए, तर कलाकारको कलाको क्षमता ?
हामीले अभिनय सिकेर गरेका थिएनौँ । म आँफैले पनि ट्रेनिङ लिएको छैन । तर अलिअली चाहाना थियो । ऐनामा हेरेर एक्टिङ गर्थेँ । मलाई त्यो बेलामा फिल्म खेल्नु पर्छ भन्नेव्यक्ति डान्स डाईरेक्टर बसन्त श्रेष्ठ हो । मैले उहासँग डान्स पनि सिकेँ, डान्स गर्ने क्रममा त्यहीँ अभिनय पनि अलिअली सिकेको थिए । मैले लिएको ट्रेनिङ त्यति मात्रै थियो ।

कोठामा एक्लै हुँदा रिसाउँथे, हाँस्थे, रुन्थेँ, कराउँथे, रोमान्टिक कुराहरु आफैले आफैलाई गर्थेँ । त्यसरी नै अभिनय गर्न थालेको हुँ । तर अहिले धेरै फिल्म बन्छ, धेरै कलाकारहरु छन् । एक्टिङ क्लास लिने कलेजहरु पनि खुलेका छन् । अझै राम्रो पक्ष के छ भने धेरै कलाकारहरु नाटकबाटनै आउन थाल्नु भएको छ । नाटक भनेको एक्टिङको पाठसाला हो । गुरुमन्त्र त्यहीँबाट पाउने हो । त्यसैले माझिएका कलाकारहरु बिस्तारै आउँदै छन् । र त्यो हुनुपनि पर्छ ।

फिल्म क्षेत्र रहर, बाध्यता वा लक्ष के थियो ?
म किर्तीपुरमा एमए पढिरहेको थिए । मेरो एकजना उज्वल भन्ने साथी हुनुहुन्थ्यो । उहाँ अहिले वरिष्ठ निर्देशक हुनुहुन्छ । उहाँले चाहिँ मलाई प्रकाश तिमी एक चोटी फिल्ममा ट्राई गर भन्नुभएको थियो । पछी मैले ‘अन्याय’ भन्ने फिल्ममा अभिनय गर्ने मौका पाएँ । उक्त फिल्म वरिष्ठ निर्दशक तुलसी घिमिरेले निर्देशन गर्नु भएको थियो ।

‘अन्याय’ लगत्तै मैले निर्देशक सम्भु प्रधानको फिल्म ‘बेहुली’मा काम गर्ने मौका पाएको थिएँ । त्यसपछी खै के भयो एक पछी अर्को गर्दै फिल्म गर्दै गएँ । अहिलेसम्म बुझ्न सकेको छैन फिल्ममा लाग्नु मेरो रहर, बाध्यता वा लक्ष के थियो भनेर । सायद मनको इच्छा थियो होला ।

पहिलो फिल्म रिलिज हुने अघिल्लो रातको अनुभव ?
रातभरी सुत्नै सकिन । भोली मेरो फिल्म आउँदै छ दर्शकले मेरो फिल्म रुचाँउने हो कि होइन ? मेरो अभिनयलाई मन पराउँने हो कि होईन भन्ने डर हुँदोरहेछ । तर भगवानको कृपाले मेरो त्यो फिल्म त्यती नराम्रो चाहिँ भएन । अझै पनि मलाई मेरो फ्यानहरुले ‘माया के होला’ भन्ने गीतबाट चिन्नुहुन्छ । त्यसमा खुसी लाग्छ ।

मनिषा कोईरालाको पहिलो हिरो हुँदाको अनुभब ?
मनिषा कोईराला र मेरो पुरानो पारिवारिक सम्बन्ध रहेछ । त्यो पछी मात्र थाहा पाएँ । मेरो बुवा पुलिसको हाकिम हुँदा गिरिजा प्रसाद कोईरालासँग नजिकको सम्बन्ध रहेछ । म यो ब्याकग्राउण्डबाट आएको हो भन्ने कुरा गिरीजा बालाई पनि थाहा रहेछ । मनिषाले धेरै वटा फिल्मको अफरलाई रिजिक्ट गरेर मेरो फिल्म ‘फेरी भेटौँला’मा मसँगै अभिनय गर्न राजि भइन् । अझ भन्दा, मनिषाले अरुलाई छोडेर मलाई रोजिन् ।  हामीले सँगै फिल्म गर्यौँ । उहाँको अभिनय मलाई एकदमै मन परेको थियो ।

सुटिङ सकिने बित्तिकै भुषण दाहाल जीले मेरो इन्टरभ्यू लिनुभएको थियो । मैले मनिषा काईरालाले बलिउड, हलिउडमा पनि राम्रो छाप राख्ने छ भनेर त्यती बेला नै भनेको थिएँ । आखिर त्यही भयो । उहाँले अपरचुनिटी पाउनुभयो र सफल पनि हुनुभयो । मलाई गर्व लाग्छ ।

फिल्म क्षेत्रको विकासका लागि खोलिएका संस्थाहरुको प्रभाव कतिको छ ?
हाम्रो अभिभावक भनेकै चलचित्र विकास बोर्ड हो । विकास बोर्डमा सुरुका पोलिसी मेकरहरु राम्रा थियो । त्यसपछी अलिक पोलिटिकल अपोईन्टमेन्ट आयो । राजनैतिक गन्ध छिरेको कारणले नेपाली फिल्म क्षेत्रको विकासमा बाधा ल्याईरहेको छ । फिल्म के हो, फिल्म मेकिङ के हो भन्ने कुरा जान्ने मान्छे आयो भने चाहिँ अवश्य नेपाली फिल्मको विकास हुने छ ।

आफै फिल्म निर्माण गरौँ जस्तो लागेको छैन ?
फिल्म मेकिङ भनेको साह्रै ठूलो कुरा हो । फुल टाईम जव हो । मेकरले खाँदा पनि फिल्मको बारेमा सोच्नु पर्छ, सुत्दा पनि र निदाएपछी सपनामा पनि फिल्मनै देख्नु पर्छ । र राम्रो फिल्म बनाउनका लागि तन, मन, धन पुरै दिनु पर्छ । त्यसैले फिल्म निर्माण त होईन, तर अलिक रोमान्टिक रोल, भाबुक रोल गर्ने मन छ । मलाई अलि समय चाहिन्छ म मज्जाले यस्तो रोल अहिले पनि गर्न सक्छु । कुनै दिन त्यो पनि आउला । म त्यो दिनहरु पनि कुरिरहेको छु ।

तपाईको यो बहुचर्चित मिडीयो मार्फत म के भन्न चाहन्छु भने म रेडी छु, म जस्तो सुकै रोल पनि गर्न सक्छु । त्यसैले हुनसक्छ भने अलिकती ट्रेन्ड मिलाएर मलाई सुहाउने किसिमको लिड रोल दिईयो भने एउटा नयाँ किसिमको सुरुवात पनि हुन सक्छ मेरालागी ।

जवानीमा प्रेम प्रसंग कत्तिको भयो ?
धेरै भयो । एउटा क्षणिक थियो । तर के हो भने हाम्रो एउटा सिमा थियो । म अब पुलिसकोे घरको मान्छे समय भएसी मात्र घरबाट निस्किन पाउने, समयमा घरमा फर्केनु पर्ने । घरमा स्ट्रिक थियो । त्यो बिचमा पनि प्रेम गरियो । हाम्रो प्रेमको ईन्डिङ राम्रो भएकोले बेला बेलामा यादहरु आउँछ । त्यही कारण त प्रेम राम्रो लाग्छ ।

अन्त्यमा ?
फिल्म क्षेत्र भनेको देशलाई चिनाउने क्षेत्र हो । हाम्रो देश कला र संकृतीले भरिपुर्ण छ । फिल्मको माध्यमबाट हाम्रो देशको कला र संकृतीलाई विश्व सामु देखाउन सक्छौँ । त्यसैले सबै मिलेर फिल्म क्षेत्रलाई विकास गर्न जरुरी छ ।

२०७५ भदौ २४ गते १५:१७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *