भिजा हुने पुगे, अवार्ड थापे

नेपालमा चलचित्र संघ ठूलो र शक्तिशाली संस्था मानिन्छ । चलचित्र संघले चाहेमा फिल्म बजार नै उथलपुथल हुन्छ । तर, चलचित्र संघलाई एउटा अवार्ड गर्न पनि हम्मे हम्मे भयो । गएको बर्ष नै नेम्पा फिल्म अवार्ड भनेर विभिन्न विधामा नोमिनेशन सार्वजनिक गरिएको थियो । तर, भिजा आवेदन दिएका ९५ प्रतिशत कलाकारलाई अमेरिकाले नपत्याएपछि संघले अवार्ड गर्न सकेन ।

यो बर्ष अमेरिकाका ३ वटा संस्था मिलेर आयोजना गरेको नेपाली राष्ट्रिय सम्मेलन २०१८ मा मिसिएर नेम्पाले पपुलर अवार्ड आयोजना गरेको छ । यो अवार्डमा सहभागी हुन जो जो कलाकार अमेरिका पुगे, उनीहरुले नै अवार्ड उचाले । नेम्पाले ती कलाकारलाई अमेरिका लगेको थियो, जोसँग पहिलेदेखि नै अमेरिकाको भिजा थियो । केही कलाकारले भिसा आवेदन दिएपनि उनीहरुलाई अमेरिकाले पत्याएन ।

गेहेन्द्र घिमिरेलाई एचिभमेन्ट अवार्ड, सुनिल थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइयो । दुबैजना अमेरिका पुगेका थिए । अमेरिका पुगेका भूवन केसीलाई यूग अभिनेताको अवार्ड दिइयो । अमेरिका नै पुगेकी दिपाश्री निरौला पपुलर निर्देशक बनिन् । अमेरिका पुगेका केदार घिमिरे र विल्सन विक्रम राइलाई पपुलर हाँस्य कलाकारको अवार्ड दिइयो । अमेरिकाको भिसा भएर गएकी नीता ढुंगाना पपुलर सह–अभिनेत्री बनिन् ।

अवार्ड नै यसरी दिइयो कि, जो पुग्यो उसैलाई दिइयो । अमेरिकामा रहेका नेपाली कलाकारले आफूहरुलाई खबर नै नगरिएको बताए । जसको भिसा छ, उसैलाई लाने र उसैलाई अवार्ड दिएर नेपाली फिल्मको विकास र प्रवद्र्धन कसरी होला ? चलचित्र संघ जस्तो ठूलो संस्थाले यसरी झारा टारेर कार्यक्रम गरेर के फाइदा होला ?