टीनाको हातबाट अवार्ड थाप्दा भाग्यमानी नीता !

बलिउडमा टिना आहुजाको परिचय के होला ?  मात्र एउटै छ, गोविन्दाकी छोरी । गोविन्दालाई हटाइदिने हो भने टिनाको परिचय सायदै कमैले चिन्लान् । तर, नेपाली फिल्मकी अभिनेत्री नीता ढुंगानालाई भने उनै गोविन्दाकी छोरीको हातबाट अवार्ड लिन पाउँदा भाग्यमानी भएको महशुश भएछ ।

टीनाले उत्कृष्ट अभिनेत्रीको अवार्डको घोषणा गरिन् र अभिनेत्री नीता ढुंगानालाई अवार्ड पनि दिइन् । नीताले अवार्ड पाउँछिन् भन्ने त पहिले नै सबैजसोले अड्कल लगाइसकेका थिए ।

नीताले आफ्ना लागि यो भन्दा खुशीको पल अरु नहुने भन्दै कसै कसैले आफूलाई भाग्यमानी छौ भनेको संझिइन् । नीताले आफू भाग्यमानी हुनुको कारण भने टीनाको हातबाट अवार्ड थाप्नुलाई मानिन् ।

नेपाली फिल्मका चर्चित कलाकारको हातबाट पनि नीताले अवार्ड थापिसकेकी छिन् । तर, गोविन्दाकी छोरीको हातबाट अवार्ड थाप्नु नीताका लागि सबैभन्दा गर्व गर्ने समय रहेछ ।

तुलना नै गर्ने हो भने, टीना गोविन्दाकी छोरी हुन् । नीता नेपालमा चलेकी अभिनेत्री । तर, नेपालमा चलेकै कलाकार यसरी आफ्नो स्टारडम र क्रेजलाई घुँडा टेकाइदिन्छन् कि, उनीहरुले कहिलेकाही आफू को हुँ भन्ने नै विर्सन्छन् । नीताले टीनाको हातबाट अवार्ड थाप्दा आफूलाई भाग्यमानी र सबैभन्दा खुशीको पल ठान्नु पर्ने कारण के छ र ? बरु, राम्रो काम गरेर अवार्ड पाएकोमा खुशी भैदिएको भए धेरै राम्रो हुन्थ्यो होला की ?