धिरजको जोडी साम्राज्ञी कि रेनशा ?

‘इन्टु मिन्टु  लण्डनमा’ फिल्म रिलिज हुन धेरै दिन  बाँकी छैन । तर, यो फिल्मका कलाकार र निर्देशक बिच भने दुरी देखिन थालेको छ ।

इन्टु मिन्टु लण्डनमाको मुख्य हिरो धिरज मगर हुन् भने हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाह । धिरजलाई यो फिल्मकी निर्देशक रेनशा वान्तवा राइले प्रमोशन गरिरहेकी छिन् । धिरजलाई लिएर अझै ३ वटा फिल्म बनाउने बताइसकेकाले पनि धिरजप्रति रेनशा बढी नै झुकाव राख्छिन् । यसैले अर्का हिरो सारुक ताम्राकार उनको नजरमा खासै पर्दैनन् । हिजो राष्ट्रिय सभा गृहमा आयोजना भएको सिने सर्कल अवार्डमा पनि धिरजप्रति रेनशाले बढी नै झुकाव राखिन् भने  सारुकलाई  खासै वास्ता गरिनन् ।

अहिले त धिरजको हिरोइन साम्राज्ञी हुन् कि रेनशा, दोधार हुने अवस्था आइसकेको छ । फिल्मको प्रमोशनलाई छाडेर साम्राज्ञी जापानमा अवार्ड थाप्न पुगेपछि रेनशा खुशी छैनन् । उनले, अवार्डको स्टेजमा यो कुरा झल्काएकी थिइन् ।

यसैले, उनले फिल्म प्रचार गर्न आफै धिरजको जोडी बनेर नाचिरहेकी छिन् । उडायो हावाले गीतमा धिरज र रेनशाले स्टेजमा नृत्य गरेका थिए । धिरजको हिरोइन साम्राज्ञी हुन् कि निर्देशक रेनशा वान्तवा राई ? अब यसो भन्नुपर्ने दिन पनि आयो है ।