दीपशिखाले ज्यान बनाउने जस्तो रहर अभिनयमा पनि गरेको भए

कलाकारहरु आफूले काम गरेका फिल्म फ्लप भयो भने, आशा गरेको फिल्मलाई आधा दर्जन फिल्म खेलेपछि पनि डेब्यू भन्दिन बेर लाउँदैनन् । डेब्यूको अर्थ नै कलाकारले बुझ्दैनन् ।

अभिनेत्री दीपशिखा खड्कालाई नै हेरौँ । उनी पनि आफूले नै बनाएको ‘प्रेमलिला’ फिल्मलाई डेब्यू भनिरहेकी छिन् । यस अघिका फिल्म असफल भए होलान्, तर ती फिल्मका निर्माताले के सोचे होलान् ? के उनलाई डेब्यू गराएकोमा अब उनीहरुले पछुताउनु ?

दिपशिखाले प्रेमलिला फिल्मका लागि गर्नुसम्म मिहेनत गरेकी छिन् । उनले त, कपाल मुण्डन गरिन्, शरीरमा प्याक्स नै निकालेकी छिन् । दिपशिखालाई अहिले आफूले मुण्डन गरेकाले, हिरोको जस्तो ज्यान बनाएकाले दर्शकले फिल्म हेरिदिनुपर्छ भन्ने लाग्न थालेको छ ।
तर, दर्शकले उनलाई अघिका फिल्ममा नै क्लिक गरिदिएको भए उनले अहिले टाउकोको कपाल काटेको र ज्यान बनाएको कुरालाई प्रचार गर्नै पर्दैनथ्यो । दर्शकले आफैँ गरिहाल्थे ।

तर, दीपशिखाले भने अहिले शरीर बनाएको फोटो देखाएरै दर्शक तान्ने धुन कसेकी छिन् । यसरी शरीर बनाउनमा गरेको कसरत अभिनयमा पनि गरिदिएको भए, अहिले डेब्यू फिल्म भन्दै भौतारिनु पर्थ्यो र ?