सुस्केरामै अड्कियो स्वरुपको भविष्य

‘छक्का पन्जा २’ चलेपनि स्वरुप पुरुष ढकाललाई नोटिस गर्ने मान्छे भेटिएनन् । यत्रो ब्रान्ड बनाएको फिल्मको लिड हिरो हुँदा पनि उनी चलेनन् । चल्नु नचल्नु दर्शकको हातमा छ । तर,  स्वरुपले आफूलाई उठाउन नसकेका पनि हुन् ।

‘छक्का पन्जा ३’ मा उनी दोहोरिएनन् । तर, स्वरुप पुरुषले पहिले अभिनय गरेको फिल्म सुस्केरा हो । यो फिल्ममा स्वरुप र अभिनेत्री सुरक्षा पन्तको अभिनय छ ।

सुस्केराको टिजर पनि रिलिज भएको हो । तर, निर्देशक साम्तेन भुटियाको कमजोरी यो हो कि, उनका फिल्म रिलिज हुनै समय लाग्छ । तान्द्रो बल्ल बल्ल रिलिज भएको थियो । उनले सुस्केरा अड्काउँदा स्वरप पुरुषको फिल्म लाइनको भविष्य पनि अड्किएको छ । यो फिल्म रिलिज भएको भए स्वरुपलाई दर्शकले अझै नोटिस गर्न सक्थे । तर, यस्तो हुन सकेको छैन ।

स्वरुप अहिले फिल्मको बाटोबाट अलग जस्तै देखिदैछन् । एउटा सम्भावना बोकेका कलाकार आफ्नै कारणले, आफूले काम गरेको फिल्म रिलिज नहुँदा हराउन थालेका छन् ।

सुस्केराले अड्काएको करिअर यो फिल्म रिलिज गरिदिए खुल्थ्यो होला कि ?