‘कमिटमेन्ट’ पुरा गर्न नसक्ने निखिलको नयाँ तरिका

अभिनेता तथा निर्देशक निखिल उप्रेतीले कमिटमेन्ट ६० आवर्सको घोषणा गर्दा उनले यो फिल्मको बारेमा गरेको कुरा त्यहाँ पुग्ने फिल्मीकर्मी र पत्रकारलाई राम्रोसँग याद छ । यो फिल्म अमेरिकासम्म खिच्ने,  हलिउड स्तरको बनाउने उनले सुनाएका थिए ।

फिल्मको छायांकन पनि भएको थियो । फिल्मका लागि बलिउडका केही नाम सुनिएका कलाकार पनि आएर काम गरे । निखिलकी साली सिवानीले काम पनि गरिन् । तर, निखिलको कुरा ३० प्रतिशत छायांकन नसकिदै सकियो । यसपछि उनले यो फिल्म पुरा गर्न सकेनन् ।

निखिलले आफूले नै निर्देशन गर्ने बताएको फिल्म पुरा गर्न नसकेपछि केही समय त चुप नै बसेका थिए । अब, उनलाई फेरि नयाँ फिल्ममा काम गर्न र निर्देशन गर्न रहर लागेको छ । आफूले नै निर्देशन गरेको पहिलो फिल्म भैरवको सिक्वेल उनले निर्देशन गर्न लागेको खबर आएको छ । निखिलले यो फिल्मका लागि खुबै मेहेनत पनि गरेका छन् ।

निखिलले अघिल्लो फिल्म नै पुरा गर्न सकेका छैनन् । फेरि उनलाई अर्को फिल्म बनाउने सोच आएको छ । पहिलो आफ्नो कमिटमेन्ट पुरा गरेपछि अर्को फिल्म बनाउँदा के होला ? होइन भने भैरव २ पनि विचमै निखिलले छाड्ने पो हुन् कि ?