सकिएको हो प्रदिप र झरनाको दुश्मनी ?

अभिनेत्री झरना थापाले आफूले निर्देशन गर्न लागेको पहिलो फिल्म ‘ए मेरो हजुर २’ का लागि अभिनेता प्रदिप खड्कालाई अफर गरेकी थिइन् । अभिनेता अनमोल केसीलाई कुर्दा कुर्दै झरनाले समय नपाएपछि प्रदिप र प्रदिपले समय नदिएपछि सलिनमान बनियाँलाई डेब्यू गराइन् ।

झरनाले ‘ए मेरो हजुर ३’ मा पनि प्रदिपलाई खेलाउन खोजेकी हुन् । तर, खै यी दुइको ट्यूनिङ फेरि मिलेन । सँगै काम गर्न उनीहरुले सकेनन् र अनमोललाई लिएर उनले ‘ए मेरो हजुर ३’ निर्माण सुरु गरिन् । प्रदीपले २ वटै फिल्ममा काम नगरेपछि एकताका झरना उनीसँग झनक्क भएकी थिइन् । उनका श्रीमान तथा निर्माता सुनिलकुमार थापा पनि फन्किने भैहाले ।

तर,  अब भने यी दुई र प्रदिपको सम्बन्धमा आएको दरार पुरिएको जस्तो लाग्दैछ । शनिबार आयोजित कामना फिल्म अवार्डमा झरना, सुनिल र प्रदीप गफिएका थिए । उनीहरु के बिषयमा गफिएका थिए भन्ने त मेसो कमैले पाए । तर, पनि प्रदीप, सुनिल र झरनाको एउटै फ्रेम फिल्म वृत्तका लागि सानो कुरा थिएन ।

झरना थापा अहिलेका स्टारहरुसँग काम गर्न इच्छुक देखिन्छिन् । सायद प्रदीपसँग काम गर्ने चाहना उनले अझै मारेकी छैनन् होला ।