छक्का पन्जा ३ सँग दीपिकाको के रिस ?

अभिनेत्री दीपिका प्रसाइका लागि मंगलबारको दिन विशेष थियो । मंगलबार उनले अभिनय गरेको दोश्रो फिल्म छक्का पन्जा ३ को ५१ दिने सक्सेस पार्टी आयोजना गरियो ।

फिल्म क्षेत्रलाई नै डाकिएको यो कार्यक्रममा दीपिका प्रमुख आकर्षणमा रहने थिइन् । तर, उनी सो पार्टीमा उपस्थित भइनन् ।

दीपिका किन पार्टीमा आइनन् यो बिषयमा यसका निर्मातालाई पनि थाहा छैन । बरु, यो फिल्मको एउटा गीतमा मात्र काम गरेकी अभिनेत्री बर्षा राउत हट कपडा लगाएर पुगिन् ।

बर्षा राउत, फिल्मको निर्देशक दीपाश्री निरौला आकर्षणको पात्र बनेको यो कार्यक्रममा मुख्य हिरोइन नै नआउँदा पत्रकार र अन्य अतिथीले खल्लो मानेका थिए ।

दीपिका यो फिल्मको पब्लिसिटीमा पनि हिडेको देखिएन । दीपिकाले यो फिल्मको सफलताले छोएन । उनका लागि यो फिल्मको व्यापार महत्वपूर्ण थियो । तर, दीपिकाले यसपटक आफ्नो बिहे र हनिमुनमा समय बढी दिइन् । तर, नेपालमै रहेकी दीपिका आफ्नो हिट फिल्मको पार्टीमा नआउनु रहस्यमय कुरा होइन र ?

दीपिकाले छक्का पन्जाको ब्रान्डलाई आफूतिर ढाल्न नसकेकी नै हुन् त ? एउटा गीतमा नाचेकी बर्षाले पनि छक्का पन्जाको ब्रान्डलाई आफ्नो पोल्टामा पारेकी छिन् । फिल्म उद्योगमा नै रहने हो भने त दीपिकाले यस्तो कुरा वुझ्न पर्ने हो ?