कोशिशलाई म्यूजिक नै फापेको छ त

नेपालमा गायक हिरो भएका फिल्म चलेका छैनन् । गायकहरु नायक बन्न खोजेपनि सबै चिप्लिएका छन् । यही चिप्लिएका कारणले पनि, आफूले जे काम जानेको छ त्यही काम नै गर्नुपर्छ भन्ने गरिन्छ । गायक, संगीतकारहरु हिरो बन्न खोज्दा असफल मात्र भएका छैनन्, आफ्नो मुल विधाबाट पनि हराएका छन् । यसैले जेमा आफू अब्बल हो त्यतै लाग्दा राम्रो नी ।

संगीतकार कोशिश क्षेत्रीको दिन अहिले बलेको छ । उनले छोएका फिल्म हुन् या ननफिल्मी गीत सबै हिट भएका छन् । हिटै हिटको बाटोमा लागेको कोशिशले पर्व फिल्ममा काम गरेर गल्ती गरिसके । उनले अभिनय गरेको पर्वमा उनको संगीत हिट भयो । काले दाई काले दाई बोलको गीत हिट मात्र भएको थिएन, कोशिशको हातमा हिट गीतका लागि अवसर पनि दिएको छ ।

तर, कोशिशलाई फेरि हिरो बन्ने रहर लागेको रहेछ । उनी रातो गलबन्दी फिल्ममा हिरो बन्दैछन् । अभिनेत्रीमा केकी अधिकारी छिन् । संगीतमै राम्रो नाम र दाम कमाइरहेको बेलामा फेरि फिल्मको पर्दामा देखिन कोशिशलाई किन रहर लागेको होला ? यताको बजार राम्रो चलिरहेको छ, फेरि अर्को बजार किन खोज्या हुन् यी संगीतकारले ?

हिरो बन्छु भन्ने भूतले नछाड्दा संगीतमा चलेको क्रेज पनि घट्ला है ?