नन्दिताको फिल्म अब युटुबमा हेर्ने दिन आएछ

शोभा केसीलाई फिल्ममा ल्याएर निर्देशक तुलसी घिमिरेले नन्दिता केसी बनाएका हुन् । नन्दिता केसी त्यसपछि चम्किइन् । उनले नेपाली फिल्ममा नम्बर १ नै बन्ने अवसर त कहिले पनि पाइनन् । तर, उनको डाउनफल पनि त्यस्तो भएन । उनी सधै नै बैकल्पिक हिरोइनको रुपमा थिइन् ।

नन्दिताको फिल्म हलमा आउँदा दर्शकलाई राम्रै प्रतिक्षा पनि भएको हो । नन्दिताको फिल्मका लागि टिकट काटेर हलमा दर्शक पनि पुग्थेँ । तर, समय एकनासको हुँदैन ।

अभिनेत्री केसी अमेरिका गएपछि उनलाई दर्शकले पनि विर्सन थालेका छन् । उनी अमेरिकामा के गर्दैछिन् भन्ने दर्शकलाई थाहा छैन ।

नन्दिताले अमेरिका पुगेर अमेरिकन बाबु मेड इन नेपाल फिल्म खेलिन् । यो फिल्म हलमा आउला र हेरुम्ला भन्ने दर्शकको चाहना पुरा भएन । फिल्मलाई हलमा रिलिज गर्ने हिम्मत निर्माताले गर्न सकेनन् । यसैले उनले युटुबको सहारा लिएका छन् ।

नन्दिता केसी, बाबु बोगटी जस्ता कलाकार नेपालमा कुनै समय चलेका थिए । तर, सधै आगो बलिराख्दैन । नन्दिताका लागि पैसा तिरेर हल पुग्ने दर्शकले अहिले उनलाई नै निशुल्क हेर्न पाएका छन् ।