पिएससिएनको आयोजनामा डान्स फेस्टिवल सम्पन्न

प्रि स्कुल कमिटी अफ नेपाल (पिएससिएन) को आयोजनामा डान्स फेस्टिवल सम्पन्न भएको छ । ललितपुरको सेन्ट जेभियर्स स्कुलमा सम्पन्न उक्त डान्स फेस्टिवलमा पिएससिएन अन्तर्गतका विभिन्न १९ वटा स्कुलहरुको सहभागिता थियो । फेस्टिवलमा १९ वटा स्कुलका ४०० भन्दा बढी बिद्यार्थीहरु विभिन्न मौलिक भेषभुषामा सजिएका थिए । साथै कार्यक्रममा विद्यार्थीहरुले विविध नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा केन्द्रीय प्याब्सनकी सचिव तथा हिमालय स्कुल तथा कलेजकी निर्देशक संगीता सिलवाल ऐर, मर्निङ ग्लोरी इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक मोहना मोथे खनाल र नृत्य निर्देशक रोहिया महर्जनको उपस्थिति थियो ।

विशेष अतिथि ऐरले शिक्षाको परम्परागत पद्दती फेरिएको बताउँदै समयानुकुल शिक्षामा जोड दिइन् । त्यस्तै पिएससिएनकी अध्यक्ष सभ्यता खड्का स्वारले अहिले विगतमा जस्तो किताबी ज्ञानमा मात्र शिक्षा सीमित नभएकोले सानै उमेरदेखि बिद्यार्थीको सर्वांगिण व्यक्तित्व विकासका लागि पिएससिएनले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।

पिएससिएनका सचिव पूजा गौतमले सात वटा विद्यालयबाट सुरु भएको यस संस्थामा अहिले २० वटा विद्यालयहरु संलग्न रहेको जानकारी दिइन् । डान्स फेस्टिवल पिएससिएनको नियमित वार्षिक कार्यक्रम भएको बताउँदै उनले बालबालिकाहरुको क्षमता अभिवृद्धिका निम्ति आगामी दिनमा विभिन्न कार्यक्रम गरिरहने जानकारी दिइन् ।

२०७६ सालमा स्थापना भएको पिएससिएनले ससाना बालबालिकाहरुको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलापहरु समेत सञ्चालन गर्दै आएको छ ।