फिल्म ‘चिनी कम रंग कडा’ले दर्शकको मन जित्छ : निर्देशक विवेक घिमिरे

नाम नै अग्र्यानिक लाग्ने फिल्म ‘चिनी कम रंग कडा’ अहिले अमेरिका लगायत बेलायतबाट प्रदर्शन भइरहेको छ । अमेजन प्राइभ भिडियोबाट रिलिज भएको फिल्मको प्रतिक्रिया कस्तो भइरहको छ भन्नेबारे  फिल्मका निर्देशक विवेक घिमिरेसँग मेरोफिल्मले गरेको कुराकानी

तपाई फिल्म क्षेत्रमा आउन भन्दा अगाडी के गर्नु हुन्थ्यो ?

म १८ वर्ष देखि युएसमा बस्दै आएको छु् । युएसको नेवीमा मैले ८ बर्ष काम गरे । त्यहाँबाट बाहिर आएपछि २–४ वटा ठाउँमा आइटी सेक्टरमा पनि काम गरे । अहिले सोच्दा त्यो सबै फिल्म बनाउनका लागि नै अनुभव बटुलेको थिए जस्तो लाग्छ ।

युएस नेवीमा  काम गरेको मान्छे फिल्म क्षेत्रमा आउन तपाईलाई के कुराले प्रेरित गर्यो ?

फिल्म बनाउने प्रेरणा र जुनुन सानो देखि नै थियो । म युएस नेवी पनि फिल्म बनाउनका लागि नै अनुभव बटुल्लन छिरेको रहेछु । जानी नजानी अहिले सोच्दा ।

अमेरिका बसेको मान्छे नेपाल आएर फिल्म बनाउनुको मुख्य कारण चाही के हो ?

यस बारेमा मलाई कारण नै थाहा छैन ।

फिल्म ‘चिनी कम रंग कडा’ को सुरुवात कसरी भयो ?

गणेश देव पाण्डे र म एउटा दार्शनिक यात्रामा नेपाल घुमी रहेका थियौँ । यहि यात्राको समयमा यो कथा एक्कासी गणेश पाण्डेको दिमागमा आयो । मैले यो कथामा फिल्म बन्ने एकदमै सम्भावना देखे । कथा तयार भएपछि यो फिल्मको निर्देशन मैले गर्नुपर्छ भन्ने कुरा गरेपछि गणेशजीले मान्नुभयो ।

अनि यो कथा कसरी पाउनु भो ?

पाटन आसपासमा घुम्दैँ जाँदा त्यहाँको रहन सहन निकाल्दै जाँदा कथाहरु र पात्र त्यहि फेला पर्यो । यसलाई फिल्ममा उतार्न पाए हुन्थ्यो भन्ने म र गणेजीलाई लाग्यो र फिल्म लेख्न थाल्यौ । यसरी लेख्दै गएपछि राम्रो कथा बन्यो र फिल्म बनाउने हामीबीच सल्लाह गर्यौ र पछि कलाकार जम्मा पारेर फिल्म निर्माण गर्ने घोषणा गर्यो ।

गणेश देव पाण्डे आफै निर्देशक हुदाँहुदै पनि तपाईलाई निर्देशन गर्न कथा दिनुको कारण के होला ?

गणेश देव पाण्डे मलाई राम्रो फिल्ममेकर लाग्छ । उहाँ फिल्ममेकर मात्र नभएर एउटा राम्रो लेखक पनि हो । फिल्म ‘चिनी कम रंग कडा’ले गणेश देव पाण्डे लेख्नुभयो । मलाई उहाँको लेखाईले मन छोयो । उहाँले कथालाई गहिराईसम्म पुगेर लेख्नुभएको छ । मैले यो कथामा म फिल्म निर्देशन गर्छु भनेर गणेशदेवलाई मागेपछि उहाँले मलाई दिनुभयो । त्यसपछि फिल्मका कार्य अगाडी बढेको हो ।

फिल्मको नाम नै ‘चिनी कम रंग कडा ’ छ ,यसलाई कसरी जुराउनुभयो ?

यो नाम र फिल्मको कथाको भाव कतै कतै कुनै न कुनै सुक्ष्म रुपले जोडेको छ । के हो भनेर थाहा पाउनको लागि त तपाईले फिल्म हेर्नुपर्छ ।

‘चिनी कम रंग कडा’ फिल्मलाई नै पहिलो चलचित्र को रुपमा किन लिनुभएको हो ?

‘चिनी कम रंग कडा’ले मलाई रोजेको हो । यो ‘कुरा चिनी कम रंग कडा’लाई नै सोध्नुपर्छ ।

यो फिल्मको छायाङ्कन निकै अगाडी भएको होइन र ?

यो फिल्मको छायाँङ्कन २०१७ मा गरेका थियौँ ।

अनि फिल्म रिलिजमा किन ढिला भयो ?

यो फिल्म अड्किएको केहि व्यक्तिगत र केहि प्रोफेश्नल कारणहरुले हो । यो फिल्म हामीले लगभग सबै काम फिल्मको छायाँङ्कन सकिएको केहि दिनमा नै सकाएका थियौ । फिल्मलाई हलमा यहि में जुन तिर रिलिज गर्ने तयारीमा लाग्दा लाग्दै बीचमा कोरोना आयो । कोरोनाको त्रासमा फिल्महलहरु बन्द भए ।

फिल्म हल नकुर्दै हामीले डिजिटल प्लेटफम रोज्न पुगेका हौँ । नेपालमा भन्दा पहिला फिल्म देश बाहिरका दर्शकलाई देखाउ भन्ने हाम्रो टिमको सल्लाह भयो । त्यस कारण अहिले अमेरिकाको अमेजन प्राइमबाट रिलिज गर्यो । यहाँबाट हामीले रिलिज गर्दा खेरि देशलाई चिनाउने मौका पनि पाएका छौँ । नत्र कमै मात्रामा नेपाली फिल्महरु अमेजनबाट प्रसारण भएका छन् ।

फिल्मको सुरुवात देखि अहिलेसम्म काम गर्दै जाने क्रममा के कस्तो अनुभवहरु गर्नुभयो ?

मलाई चाही परै आत्मबल बढेको छ । फिल्म रिलिज हुनुभन्दा अगाडी के होला कसो होला भन्ने एक प्रकारको डर लाग्थ्यो तर अहिले लाग्दैन । मैले यहाँ सम्म आइपुग्दा धेरै कुरा बुझ्ने मौका पाए । जिन्दगीमा जहिले पनि एउटा बिद्यार्थी हुनु पर्ने रहेछ ।

फिल्मका लागि कलाकार छनोट कसरी गर्नुभयो ?

केहि कलाकारलाई अडिशन गरेर लिए भने केहिलाई आफैँ खोजे । मैले खोजेको र अडिसन लिएका दुवै कलाकार मैले बेष्ट एक्टर पाए । उनीहरुसँग काम गर्दा निकै रमाइलो पनि भयो । कलाकारसँग काम गर्दा धेरै कुरा सिक्न पनि पाए ।

यो फिल्ममा त तपाईले विदेशी क्यामेरामेन पो लिनुभएको रहेछ ? नेपालमा गतिलो क्यामेरामेन नपाएर विदेशी क्यामेरामेन लिनु परेको हो ?

होइन , नेपालमा पनि राम्रो क्यामेरामेन हुनुहुन्छ तर हामीलाई धेरै भिडमा खिच्नु पर्ने थियो ।  भिडबाट बच्नु पर्ने पनि थियो । भिडलाई आकर्षित गर्नु थिएन । हाम्रा क्यामेराम्यानहरुले हामीलाइ यस्तो सुबिधा दिनुपर्ने भएकाले हामीले बिदेशी छायाँकारको सहायता लिएका हौँ ।

फिल्ममा नयाँ टिमसँग काम गर्दाको तितामिठा अनुभव सुनाइदिनुस् न ?

मेरा लागि हरेक अनुभवहरु तिता मिठा र सम्झना लायक छन् । सबै भन्दा महत्वपुर्ण कुरा त मैले यस फिल्मका टिमबाट शिक्षा पनि पाए । यहि नै मेरो लागि ठुलो र महत्वपुर्ण भो ।

फिल्म रिलिजपछि आफ्नो कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

आफ्नो कामबाट सन्तुष्ट त भइहालिन्छ तर दर्शकले विदेशमा जो जसले हेरिदिनुभएको हाम्रो फिल्मलाई राम्रो प्रतिक्रिया आइरहेको छ । उहाँहरुले फिल्मलाई अन्तिमसम्म हेरिदिनुभएको छ । फिल्मलाई मन पराइदिएपछि सन्तुष्ट नहुने कुरै भएन नि हैन र ?आफ्नो कामको तारिफ आइरहेको हुनाले निकै आनन्द आइरहेको छ ।

नेपालमा कहिले रिलिज हुन्छ ?

एकदमै छिट्टै नै गर्छौ । यसबारेमा हामी तयारी गरिरहेका छौँ ।

फिल्म सम्बन्धि शिक्षा पढ्ने देखि लिएर पहिलो फिल्म निर्माण गर्दासम्मको अनुभव के कस्तो रह्यो ?

कलेजमा पढेको कुराले अनुशासन भन्ने सिकाउने रहेछ । फिल्ममा काम गर्दा ठुला देखि सामान्य कुराहरु सिकाउने रहेछ । विश्लेषण गर्ने तरिकाहरु लगायत सबै कुरा सिके मैले भन्नुपर्यो ।

फिल्म बनाउनु तपाईलाई कतिको सजिलो या गारो लाग्यो ?

फिल्म बनाउन त मलाई सजिलै लाग्यो तर आफुले सोचे जस्तो फिल्म बनाउन चाही एकदमै गार्हो रहेछ ।

फिल्म निर्माणलाई निरन्तरता दिनुहुन्छ की यति मै सिमित राख्नुहुन्छ ?

यो त मेरो आरम्भ हो । पहिलो फिल्मबाट हरेश खाने त कुरै भएन नि ।

त्यसो भए आगामी प्रोजेक्ट को बारेमा के सोच्नु भएको छ ?

मैले यो फिल्म रिलिज हुन थालेपछि नयाँ प्रोजेक्टको बारेमा सोचिसकेको छु । छिट्टै घोषणा हुन्छ ।