टेलिभिजन शो ‘ऐना’ कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले चलाउने

नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले टेलिभिजन शो होस्ट गर्ने भएका छन् ।

सामाजिक मुद्दाको उठान गर्ने उक्त कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् । कार्यक्रमको नाम राखिएको छ – ‘ऐना’ । विहिबार राजधानीमा आयोजित प्रेसमिटमा कार्यक्रमको औपचारिक घोषणा गरियो ।

कान्तिपुर टेलिभिजनबाट कात्तिक पहिलो सातादेखि प्रत्येक हप्ता एक घण्टा प्रसारण गर्ने भनिएको ‘ऐना’ कार्यक्रम शर्माले चलाउने भएका हुन् ।

स्रोतका अनुसार उक्त टेलिभिजन शो ‘ऐना’ दी होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्न लागेको हो । २६ श्रृंखलाको कार्यक्रम सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने बताइएको छ ।

निर्माता कम्पनी होराइजन मिडियाका अनुसार कार्यक्रम देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन अनुसन्धान, घटना र पात्रहरुको मिहिन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी उठाउन खोजेको विषयमाथिको सम्पूर्ण ‘प्याकेज’का रुपमा कार्यक्रम तयार हुनेछ दाबी गरिएको छ ।

प्रेसमिटमा बोल्दै निर्देशक अधिकारीले सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर कार्यक्रम गरिने जनाए । शर्माले टेलिभिजनमा काम गर्न लागेकोमा उत्साह व्यक्त गरे ।

उनले २८ जनाको समूहले कार्यक्रममा समावेश गरिने विषयवस्तुबारे ६ महिनादेखि अनुसन्धान गरिरहेको बताए ।

स्रोतका अनुसार शर्मालगायत अरु दुईजनासँग छलफल भएपछि शर्माले नै कार्यक्रम चलाउने निश्चित भइसकेको छ ।तर यसबारे शर्माले भने केही बताएका छैनन् ।