पलविरुद्ध गैंडाकोटमा जाहेरी दिएकी नाबालिकाको भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिदैँ

कलाकार पल शाहविरुद्ध नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा नवलपरासीमा पनि किटानी जाहेरी दर्ता भएको छ । तनहुँमा पलविरुद्ध किटानी जाहेरी दर्ता गराएका पीडितका बुवाले आइतबार नवलपरासीको गैडाकोट प्रहरी कार्यालयमा पनि किटानी जाहेरी दर्ता गराएका हुन् । शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएकी नाबालिकाको स्वास्थ्य परीक्षण चितवनमा गरिँदैछ ।

नवलपुरस्थित इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि १७ वर्षीया गायिकाको भरतपुर अस्पतालमा स्वास्थय परीक्षणकोतयारी भइरहेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप गिरीले पलविरुद्ध जाहेरी दिएकी युवतीको स्वास्थ्य परीक्षणका लागि चितवनस्थित भरतपुर अस्पतालमा पठाईएको जानकारी दिए ।

उनले इप्रका गैंडाकोटमा किटानी जाहेरी परेकाले सोही अनुसार अनुसन्धानको प्रक्रिया अघि बढाईएको बताए । ‘घटनास्थल भनिएको गैंडाकोट रिसोर्टमा मुचुल्का उठाई सकेका छौं, स्वास्थ्य परीक्षण पश्चात बाँकी प्रक्रिया अघि बढाउँछौं’–प्रवक्ता गिरीले भने ।

गैंँडाकोट–५, स्थित गैंडाकोटको एक रिसोर्टमा बलात्कार गरेको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा आज दिउँसो किटानी जाहेरी दिएकी हुन् । पलले जबरजस्ती मादक पदार्थ सेवन गराएर बलात्कार गरेको आराेपपत्रमा उल्लेख छ ।

प्रहरी स्रोतका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा गैँडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ ।  ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

दिउँसो आफन्तहरूसहित ती गायिका प्रहरी कार्यालयमा पुगेकी थिइन् । इलाका प्रहरी कार्यालय गैंडाकोटमा दर्ता गराइएको जाहेरीमा पीडितका बुवाले नाबालिका छोरीलाई प्रेम गरेको झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । आज (आइतबार) शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् ।