प्रियंका कार्कीः फिल्म खेल्ने तर प्रचारमा नहिड्ने

नायिका प्रियंका कार्कीले अभिनय गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ गतबर्ष रिलिज भयो । कोभिडका कारण थिलोथिलो भएको नेपाली फिल्म क्षेत्रलाई अगाडि बढाउने भन्दै निर्माता शिव श्रेष्ठले यो फिल्म रिलिजको आँट गरे । तर, फिल्म रिलिजको समयमा कलाकारले साथ नै दिएनन् ।

फिल्ममा नायिका प्रियंका कार्कीको पनि मुख्य भूमिका थियो । तर, प्रियंकाले फिल्मको न त पोष्टर शेयर गरिन् न त मिडिया कुराकानीमा नै आफूलाई सहभागी गराइन् । प्रियंकाको यो शैलीले सफल कलाकार शिव श्रेष्ठ पनि आक्रोशित बने ।

उनै, प्रियंकाको मुख्य भूमिका रहेको फिल्म ‘हेल्लो जिन्दगी’ चैत्र १८ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको प्रचारमा पनि प्रियंकाले आफूलाई कतै सहभागी गराएकी छैनन् । मंगलबार आयोजना भएको फिल्मको गीत रिलिज कार्यक्रममा पनि प्रियंका सहभागी भइनन् । प्रियंकासँगै अर्की नायिका दीपिका प्रसाँई पनि उक्त कार्यक्रममा देखिइनन् ।

प्रियंका बरु अरु नायिकाको फिल्म हेर्न पुग्छिन् तर आफ्नै फिल्मका लागि उनले मन बनाउँदिनन् । आफ्नै युट्युब च्यानलमा भिडियो अपलोड गरेर रमाइरहेकी प्रियंकाको यो शैलीले निर्देशक बोहरालाई आक्रोशित बनायो । उनले, नायिकाहरुले साथ नदिएको भन्दै आक्रोश पोखे ।

कुनै समय चर्चामा रहँदा प्रियंकाले फिल्मको प्रचारका लागि खुबै समय दिन्थिन् । तर, अब फिल्म रिलिज भएपनि आफ्नो करिअर माथि जाने होइन भन्ने वुझेर हो या किन हो, प्रियंका पैसा लिएर काम गरेका फिल्मको प्रचारबाट टाढा बस्न थालेकी छिन् ।