उपासनाको पारिश्रमिकः कतै ५ लाख, कतै १३ लाख

फिल्म ‘क्याप्टेन’ डेब्यू भएका कारण पनि नायिका उपासना सिंह ठकुरीका लागि यसमा पारिश्रमिक खासै महत्वपूर्ण हुने कुरै भएन । यो फिल्म खेलेपछि उनले ‘कबड्डी’को तेश्रो सिरिजमा काम गरिन् । यी दुबै फिल्मले उनलाई नेपाली फिल्मको उदयमान नायिकाको रुपमा चिनायो ।

तर, यसपछि भने उपासनाले नयाँ फिल्म साइन गर्न एक बर्ष नै लगाइन् । एक बर्षपछि उनले ‘डिसेम्बर फल्स’मा महंगो पारिश्रमिक लिएर काम गरेको चर्चा छ । यो फिल्म तयार भएर रिलिज हुन्छ या हुँदैन पक्का छैन । तर, उपासनाले फिल्मका लागि ९ लाख हारहारीको पारिश्रमिक लिएको चर्चा छ ।

उपासनाले अर्को फिल्म ‘सत्यम्’ पनि साइन गरिन् । नायिका मलिका महत्तले छाडेपछि अप्ठ्यारोमा परेको टिमको कुरा उपासनाले स्विकारिन् । तर, महंगो पारिश्रमिक लिन भने छाडिनन् । यो फिल्ममा उनले १३ लाख हारहारीको पारिश्रमिक लिएकी थिइन् । तर, यो फिल्म नै नबन्ने भएपछि निर्माताले उपासनालाई दिएको संझौता रकम गुमाएको छ ।

तर, केही दिन अगाडि उपासनाले साइन गरेको अर्को फिल्म ‘२ नम्बरी’मा उनको पारिश्रमिक अघिल्लो २ फिल्मको भन्दा कम रहेको वुझिएको छ । यो बिषयमा फिल्मको निर्माता र उपासना आफैले केही बताएका छैनन् । तर, फिल्मका लागि उपासनाले ५ लाख हारहारीको पारिश्रमिक लिएको वुझिएको छ ।

उपासनाको पारिश्रमिक दर किन कुनै फिल्ममा उच्च र कुनैमा कम भएको होला ? यो उनले नै जान्ने कुरा भयो । तर, एकपछि अर्को अरु नायिकाले छाडेको फिल्ममा काम गरेपछि उपासनालाई वैकल्पिक नायिकाको रुपमा पनि फिल्म क्षेत्रमा हेर्न थालिएको छ ।