अन्तरवार्ता छाडेर हिडेका आकाशले जब गल्ती महशुश गरे…

नायक आकाश श्रेष्ठले मंगलबार मिडियासँगै गलत शैली अपनाए । उनकै एक म्युजिक भिडियोका लागि मेकरको निमन्त्रणामा पुगेका केही पत्रकारले उनकै व्यवहारका कारण अन्तरवार्ता गर्न पाएनन् ।

एक पत्रकारले अन्तरवार्ताका क्रममा ‘दया, माया र करुणा’ नराखी जवाफ दिनुहोला भनेपछि आकाशले अन्तरवार्ता नै नदिने भन्दै सेट छाडे । पछि, ती पत्रकारले संझाएपछि उनी अन्तरवार्ताको सेटमा त फर्किए । तर, उनलाई कुरिरहेका अन्य पत्रकारसँग उनले कुराकानी गर्न मानेनन् ।

आकाशको यो आकस्मीक व्यवहारले पत्रकारहरुलाई पनि हैरान बनायो । फिल्मी बजारमा आकाश र मोडल करुणा श्रेष्ठको प्रेम चर्चा गर्मिएको छ । आकाश भने यो कुरा बाहिर आओस् भन्ने चाहदैनन् ।तर, ‘करुणा’ शब्द सुन्दा मिडियासँग नराम्रो व्यवहार देखाएका आकाशमाथि शंका गर्ने ठाउँ झनै छ ।

उनै, आकाशले पछि आफ्नो गल्ती महशुश गरे । अन्तरवार्ता गर्ने पत्रकारलाई आफूले सेट छाडेर हिड्न हुदैनथ्यो भन्दै उनले सन्देश पठाएका छन् । आकाशले ढिलै भएपनि आफ्नो गल्ती महशुश गरेका छन् । अब, उनले आगामी दिनमा यस्तो व्यवहार मिडियासँग देखाउने छैनन् भनेर विश्वास मात्र व्यक्त गर्न सकिन्छ ।