फुर्सदिला आर्यन

नायक आर्यन सिग्देल फिल्मको पर्दामा नदेखिएको २ बर्ष बढी भयो । एउटै बर्ष रिलिज भएका ‘हजार जुनी सम्म र च च हुँई’ असफल भएपछि आर्यनले ‘डिसेम्बर फल्स’मा काम गरे । यो फिल्मको काम अधुरै छ । पुरा हुन्छ कि हुँदैन टुंगो छैन ।

आर्यन सिग्देल भने आफू पहिले पनि फुर्सदिलो बनेको र अहिले पनि फुर्सदिलो नै रहेको बताउँछन् ।

आफू अभिनित एक म्यूजिक भिडियोको रिलिज कार्यक्रममा बोल्दै आर्यनले भने–‘म पहिला पनि फुर्सदिलो नै थिएँ । अहिले पनि फुर्सदिलो नै छु । निखिल र विराज दाईले दिनमै २ सेड्यूलमा काम गर्दा पनि मैले वर्षमा २ वटा फिल्ममा मात्र काम गरेको थिएँ । तर, पनि म खुशी छु ।’

आर्यनले आफूलाई संघर्षको दिनमा फर्किन मन लागेको बताए । संघर्षको दिनमा आफू निक्कै खुशी रहेको भन्दै आर्यनले आफूलाई सोही दिनमा फर्किन मन लागेको सुनाए । फिल्ममा असफलता हात पर्दै गएपछि आर्यन म्यूजिक भिडियोमा बढी व्यस्त छन् । तर, आर्यनले अभिनय गरेका भिडियोले पनि दर्शकको साथ पाउन सकेका छैनन् ।