सहकार्य टुटेपछि प्रदिप र रोहितको फेसबुकमा जुहारी

फिल्म लेखक प्रदिप भारद्धाज र निर्माता रोहित अधिकारीविच सामाजिक संजालमा जुहारी चलेको छ । प्रदिपले सामाजिक संजालमा निर्माता तथा लेखक दीपकराज गिरीको प्रशंसा गर्दै लेखे–‘संगत नगरी मान्छेलाई नजिकबाट चिन्न सकिन्न । व्यक्तिगत रुपमा अझै चिन्न बाँकी नै छ । व्यवसायिक रुपमा मैले वुझेको कुरा साझा गर्न मन लाग्यो । दीपकराज गिरी सिनेमा निर्माणमा जती संवेदनशील हुनुहुन्छ, अरु निर्माताहरु उहाँको एक चौथाई मात्र संवेदनशिल हुने हो भने नेपाली बजारमा साउथ सिनेमा चाहिदैन ।’

प्रदिप भन्दा अगाडि रोहितले लेखेका थिए–‘मिहिनेत नगरी फल पाइदैन । मानिस सामाजिक हुन जरुरी छ । धेरै बेसुरा बेसुरा कुरा गर्ने, मिहिनेत नगर्ने अनी धेरै पैसा मात्र खोज्ने, काम उही । अनी चल्छ फिल्म ? यो प्रश्न फिल्म लेखक ज्यूहरुलाई ?’

रोहितले नाम उल्लेख नगरे भने प्रदिपमाथि नै कटाक्ष गरेको स्पष्ट वुझिन्छ ।

भएको के हो ?

वुझिएअनुसार, रोहित अधिकारी र दीपकराज गिरीले ‘छ माया छपक्कै’ पछि अर्को नयाँ फिल्म बनाउने तयारी गरेका थिए । फिल्मको कथा लेख्ने काम प्रदिपलाई सुम्पिएका थिए । प्रदिपले पारिश्रमिक १५ लाख डिमाण्ड गरे । बल्ल बल्ल चित्त वुझाएर उनलाई फिल्म लेख्न दिइएको थियो ।

काम सुरु हुँदै गएपछि प्रदिपको स्क्रिप्ट रोहितलाई चित्तै वुझेन । प्रदिपले वन लाइन स्टोरी राम्रो लेखेपनि फिल्म भने चित्तवुझ्दो लेख्न नसकेपछि उनीहरुविच सहकार्य टुट्यो । रोहित तत्काल फिल्म नबनाउने सोचमा छन् । दीपकराज गिरी भने ‘छक्का पन्जा ४’को तयारीमा लागेका छन् ।

रोहितले यही कुराको असन्तुष्टी पोखेपछि प्रदिपले दिपकराजको प्रशंसा गर्दै जवाफ फर्काएका हुन् ।