उषालाई पारिश्रमिक लिनै समस्या

म्युजिक भिडियोकी सफल मोडल उषा उप्रेतीले आफूलाई पारिश्रमिक पाउनै समस्या भएको बताएकी छिन् । भिडियोमा काम गरेको पारिश्रमिक नपाउँदा दैनिक जीवनमा समेत समस्या पर्ने भन्दै उषाले मेकरले फोन नै उठाउन छाडेको गुनासो गरिन् ।

पहिलो चरणको लकडाउनपछि उषा नेपाली म्युजिक भिडियोमा उदाएकी हुन् । लकडाउनपछि टिकटकबाट उदाएका अधिकांश मोडलहरु हराइसक्दा उषा भने भिडियोमा अझै पनि चलिरहेकी छिन् ।

उषाले गुनासो गर्दै भनिन्–‘सुरुमै पारिश्रमिक माग्यो भने तिमी को हौं, नायिका हौं र भनेर उल्टै प्रश्न गर्नुहुन्छ । काम गरिसकेपछि पारिश्रमिक नै पाइदैन ।’

उनले, आफूहरुले घामपानी, दिनरात नभनी काम गरेपछि पारिश्रमिक पाउन नसकेको गुनासो गरिन् । उषाले भनिन्–‘फोन गर्दा महिनौ फोन नउठाउने केही निर्देशकहरु हुनुहुन्छ । सहजै विश्वास गरेर काम गर्यो पछि धोका पाइने रहेछ ।’ उषाले आफ्नो २ लाख भन्दा बढी पारिश्रमिक लिन बाँकी रहेको पनि जानकारी दिइन् ।

तर, उषाले कुन निर्देशकले पारिश्रमिक नदिएका हुन् भन्ने बिषयमा भने केही पनि खुलाएकी छैनन् ।