प्रधानमन्त्री देउवाको प्रेजेन्टर्स एसोसिएसनसँग सहकार्य गर्ने प्रतिबद्धता

उद्घोषकहरुको संस्था पे्रजेन्टर्स एसोसिएसन अफ नेपाले (पान) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

मंगलवार संस्थाका अध्यक्ष विवेक खतिवडाको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले कार्यक्रम प्रस्तोता तथा उद्घोषकहरुको संस्थासँग सहकार्य गर्ने विषयमा छलफल गरेको थियो । प्रधानमन्त्री देउवाले पनि संस्थाको लक्ष्य र उद्देश्यप्रति सकारात्मक रहेको बताउँदै आगामी दिनमा सरकारले गर्ने कार्यक्रमसँगै अन्य क्षेत्रमा पनि संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम उद्घोषकको पेशालाई पेशा नगन्ने अनि न्युन पारिश्रमिकमा कार्यक्रम गराउने, कार्यक्रम गराएपछि पारिश्रमिक नदिने जस्ता समस्याहरुको समाधानका लागि संस्था स्थापना गरिएको अध्यक्ष खतिवडाले बताए ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष खतिवडाको नेतृत्वमा संघका बरिष्ठ उपाध्यक्ष माल्विका सुब्बा, महासचिव जिपी तिमल्सीना, कोषाध्यक्ष निर्णय श्रेष्ठ, कार्यसमिति सदस्य खुश्बु प्रधान लगायतको सहभागिता रहेको थियो ।