जब सुनिल थापाले डिजे सन्तोषलाई ‘लोकदोहोरी बाबा’ भने

कुनै समय लोक संगीत छाडेर पाश्चात्य संगीतमा झुमेका नेपाली स्रोतालाई फेरि लोकसंगीतमै नचाउनसक्नु डिजे सन्तोषको खुबी हो । उनले मै छोरी सुन्दरी, चियाबारी, लेकाली हे, बाइडरोडको बाटोमा, घरबेटी नानीलगायत दर्जनौं नेपाली लोकभाकालाई रिमिक्स गरेर नयाँ स्वरुप दिए ।

नयाँ पुस्ताले पाश्चात्य संगीत र हेभी साउन्ड मिसाएर गरिएको रिमिक्स मन परायो । आफ्नो जमानाको गीत नयाँ स्वरुप र शैलीमा आउँदा पुरानो पुस्ताले मन नपराउने कुरै भएन । यसरी रिमिक्सको बजार तात्यो ।

मानिसले लगावका साथ काम गर्ने हो भने जुनसुकै विधाका गीत–संगीत पनि हिट हुने सन्तोष बताउँछन् । ‘कुनै गीत वा जनरा कसरी हिट हुन्छ भन्ने प्रश्नसँगै त्यो जनरामा काम गरिरहेका मानिसहरु कत्तिको प्रतिवद्ध छन् भन्ने प्रश्न पनि आउँछ ।

हिजोका दिनमा नविन के भट्टराई र सुगम पोखरेलले नेपाली पपमा जुन एउटा उचाई बनाए, त्यो उचाईमा त्यसपछिका गायक किन पुग्न सकेनन् ? यो प्रश्नमा पनि लगावकै कुरा आउँछ,’ उनले भने,‘मैले बनाएको भएर ती रिमिक्स गीतहरु चलेका होइनन् ।

ती त आफैंमा चलेका गीत थिए, मैले केही नयाँपन दिने प्रयास मात्रै गरेको हो । किन चलेभन्दा मैले त्यसमा निकै मेहिनत गरेको थिँए । पुजा लामाले चियाबारीमा गीतका लागि ५ महिनासम्म भोकल प्राक्टिस गरेकी थिइन्, जबकी धेरैजसो गायकहरुले दुई वा तीनघण्टाको अभ्यासमै गीत रेकर्ड गरिसक्छन् ।’

लामो अन्तरालपछि डिजे सन्तोष अहिले ‘जाले रुमाल’ नामक नयाँ गीतसहित फर्किएका छन् । यस गीतमा पनि लोकदोहोरी र पाश्चात्य संगीतको फ्युजन निकै मिठो सुनिएको छ । यस गीतमा डिजे सन्तोषसँगै गीतकार टेकु कान्छा, सुनिता थेगिम, सुरज शाही ठकुरी र प्रिति कौरले स्वर भरेका छन् । त्यस्तै पवित्रा आचार्य (पाउला) ले गीतको भिडियो निर्देशन गरेकी छि ।

बुधबार यो गीत सार्वजनिक गरियो । सार्वजनिक कार्यक्रममा डिजे सन्तोषको संगीत र स्वरको तारिफ गर्दै कलाकार सुनिल थापाले भने,‘म डिजे सन्तोषको लोकगीतप्रतिको लगाव देखेर निकै प्रभावित छु । उनको अहिलेको गेटअप (लामो कपाल र दाह्री) समेत देख्दा मलाई लोकदोहोरी बाबा भनेर सम्बोधन गर्न मन लागेको छ ।’

कलाकार सरोज खनालले पनि सन्तोषको गीत निकै मन परेको बताए । उनले सन्तोषलाई सफलताको शुभकामना दिए । अध्ययनका क्रममा थाइल्यान्ड गएका डिजे सन्तोष त्यसपछि आफ्ना सहपाठी साथीहरुसँगै हङकङ पुगेका थिए, जहाँ उनले प्रतिष्ठित स्टुडियोहरुमा साउन्ड रेकर्डिङ र संगीतको काम गरे । पछिल्लो समय साउथ एशियन म्युजिकको जिम्मा उनकै थियो ।

यसरी झन्डै एक दशकदेखि हङकङलाई कर्मथलो बनाएपनि नेपाली लोसंगीत र दर्शक स्रोतासँगको प्रगाढ सम्बन्धलाई बिर्सन नसकेकाले फेरि गीत सार्वजनिक गरेको उनले बताएका छन् । उनले तीन वर्षअघि नै गीत सार्वजनिक गर्ने तयारी गरेका थिए, तर कोराना भाइरसका कारण यो कार्यक्रम केही पछि सर्यो ।