दया र प्रियंकालाई एक अर्काको जवाफ दिनै सकस

केही बर्ष अगाडिसम्म नायिका प्रियंका कार्की र नायक दयाहाङ राइले एकसाथ फिल्म खेल्थे । यतिसम्म कि, निर्मातालाई पनि यी दुईले एकसाथ फिल्ममा लिन आग्रह पनि गर्दथ्य । तर, विगत केही बर्षदेखि यी दुईको फिल्म एकसाथ रिलिज भएको छैन । यी दुबैले एकसाथ फिल्ममा काम नगरेसँगै दर्शकले पनि यो जोडीलाई विर्सिसकेका छन् ।

तर, अब दया र प्रियंका एकसाथ फिल्ममा काम गर्दैछन् । यी दुइले रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फुलबारी’मा काम गर्दैछन् ।

आज आयोजना भएको फिल्म घोषणा कार्यक्रममा दुबै जनालाई एकसाथ काम गर्दाको उत्साह पत्रकारहरुले सोधेका थिए । जहाँ, दयाले उल्टै जोडी कस्तो लाग्छ भनेर पत्रकारहरुलाई नै सोधे । प्रियंकाले पनि त्यही हो भनेर मात्र जवाफ दिइन् ।

बोल्ने क्रममा प्रियंकाले पनि दयाको नाम मात्र लिइन् । तर, दयाले भने प्रियंकाको नाम पनि लिएनन् । कुनै समय एक अर्काको प्रशंसा गरेर नथाक्ने प्रियंका र दया, अहिले पनि एक अर्काको बिषयमा सकस मान्छन् ।