ओजस थियटरमा नाटक ‘असुर’ मञ्चन हुँदै

Mero Film

ओजस थियटरमा नाटक ‘असुर’को मन्चन सुरु भएको छ ।

विवेक न्यौपाने (घने)ले निर्देशन गरेको नाटकले शक्ति प्राप्तको लागि भोको व्यक्तिको कथा भन्छ । बुधबार बेलुका खचाखच दर्शकका बीच नाटकको घुम्टो खोलियो । असोज ८ सम्म मञ्चन हुने नाटकमा सुचित्रा उप्रेती, सागर कार्की र प्रल्हाद खरेलको प्रमुख भुमिका छ ।

‘असुर एउटा गाउँको पारिवारीक कथा हो । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । यिनीहरूको शक्ति संघर्ष बीचमा जो पर्छ, उ बर्बाद हुन्छ ।’ न्यौपानेले भने ।

‘असुर’को प्रसंग हिन्दु धर्मसंग मिल्न जान्छ । असुर एउटा शक्ति भोको पात्र हो । जो शक्ति प्राप्तिका लागी जे पनि गर्न सक्छ । कहिले देवता जस्तो त कहिले दानव जस्तो रुप लिन सक्छ । के हाम्रो घर समाजमा पनि यस्ता पात्रहरु छन् ? जसको शक्ति लालचले गर्दा राजनीतिक परिवर्तनहरू आम मान्छेको दैनिकीमा रुपान्तरण हुन सकेको छैन । यिनै प्रश्न हामीले यो नाटक मार्फत केलाउने प्रयास गरेका छौँ ।’ न्यौपानेले कथासार प्रष्ट्याए ।

रविन दोङको लेखन रहेको नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरापनि समेटेको छ ।

‘वि.सं. २०५८ देखि ०६२/०६३ सम्मको देशको परिवेशलाई असुरले ऐनाले जस्तै देखाउने चेष्टा गरिएको छ । ध्वनी संयोजन, प्रकाश, संगित संयोजन आदिले नाटकलाई सुनमा सुगन्ध थपेको छ । असली उत्पिडन र दमन बिरुद्धको सिद्धान्तमा हिड्ने व्यक्तिहरुलाई अवसरवादीहरुले ओझेलमा पारेको सन्दर्भलाई प्रष्ट पार्न खोजिएको छ । नाटकले उत्पिडित वर्गको पिडाहरुलाई देखाउन खोजेको छ । क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै असुर नाटकको मुख्य अभिप्राय हो ।’ लेखक दोङले भने ।

राजन कार्की र शंकर कार्कीले निर्माण गरेको नाटकमा मुख्य सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रल्हाद खरेलले ‘जुद्ध प्रसाद’को चरित्र बाँचेका छन् ।

राजन कार्की र शंकर कार्कीको निर्माण रहेको नाटकमा केशवसिंह ठगुन्ना, प्रतीक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्रसिंह कुशवाहा, अस्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंसा गहतराज र शुक्रराज मगरको अभिनय छ ।

काठमाडौँ महानगर वडा नम्बर ९ स्थित रातोपुलमा संचालित ओजस थियटरमा बिहिबार बाहेक हरेक दिन साँझ ५.३० बजे नाटक सुरु हुनेछ । शनिबार भने दिउँसो १ बजे मन्चन हुनेछ ।

चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन् । भेषभुषामा निशा गिरी, गंगा मगर र अश्मिता ढकालले काम गरेका छन् ।

नाटकमा बिवेक न्यौपानेले ध्वनि सम्पादन, उदिप सिवाकोटीले प्रकाश परिकल्पना, रविन दोङले मन्च परिकल्पना, सुरेन्द्र क्षेत्री/शेखर दाहालले मन्च व्यवस्थापन काम गरेका छन् ।

ओजसले यसअघि ‘पिंजडा’, ‘जालो’, र ‘म जोकर बन्छु’ जस्ता नाटक मन्चन गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published.