नाट्य महोत्सव अन्तर्गत आइतबार ‘अर्को कुरुक्षेत्र’ लाइभ स्ट्रिमिङ हुदै

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को दशौँ दिन आइतबार नाटक ‘अर्को कुरुक्षेत्र’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । नाटक साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ ।

सम्पदा मल्लको कथामा अशेष मल्लको निर्देशन रहेको नाटक ‘अर्को कुरुक्षेत्र’ सर्वनाम थिएटरको प्रस्तुतिमा बनेको हो । सर्वनाम थिएटरमा नाटकको नियमित मन्चन पनि भएको थियो । हजारौँ वर्षदेखि अस्तित्वबाट वञ्चित अनेकौ पात्रहरुको कथाको प्रतीकात्मक कोलाजीय प्रस्तुति ‘अर्को कुरुक्षेत्र’ मा देख्न सकिन्छ । परम्परा र नवीतबीचको द्वन्दलाई नाटकमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । नाटकमा उषा रजक, मनोज महर्जन, मुकेश हमाल, बिन्दु बीएम, रिया भारती, पासलाक्पा शेर्पा, हिरा हमाल, धिरज थापामगर, शोमा कार्की र कसिना बोखिम लिम्बूले अभिनय गरेका छन् ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । सरकारले कोरोना भाइरसको कारण लकडाउन घोषणा गरेपछि उक्त नाट्य महोत्सब शुरु गरिएको थियो । लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ उक्त महोत्सव घोषणा भएको थियो । सरकारले लकडाउनको अवधि थपेपछी पहिले एक हप्ता मात्र भनिएको महोत्सवको अवधि पनि लम्ब्याईएको छ ।