हाम्रो आन्दोलनमा पार्टीको आँखा नलागोस्

कोभिड-१९ महामारीको समयमा सरकारको काम प्रति असन्तुष्ट युवाहरुको समूह सामाजिक दुरी कायमगर्दै गएको मंगलबार बालुवाटारमा
शान्तिपूर्ण प्रदर्शनमा उत्रिए । उक्त प्रदर्शन फेसबुक ग्रुप – ‘कोभिड-१९ नेपाल: इनफ इज इनफ’ ले आह्वान गरेको थियो जसमा युवाहरु स्वतस्फुर्त रुपमा जम्मा भएर सरकारलाई झक्झकाउने प्रयास गरेका थिए । प्रदर्शन सरकारले निषेध गरेको स्थानमा गरिएको थियो र पछि प्रहरीले प्रदर्शनकारी माथि पानीको फोहोरा पनि हान्यो ।

राजनीतिक पार्टीको झन्डा बिनानै स्वइच्छाले जम्मा भएका प्रदर्शनकारीहरुले पिसिआर टेस्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाईन स्थलको गुणस्तर सुधार गर्नुपर्ने, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिको स्वास्थ्य सुरक्षा र स्वाभीमानको सुनिश्चितता गर्नुपर्ने, विदेशबाट उद्दार गरिएकाहरुको उचित ब्यबस्थापन गरिनुपर्ने, महामारीको बेला खर्च भएको भनिएको १० अर्बको पारदर्शी हिसाब सार्बजनिक गरिनुपर्ने लगायतका मागहरु राखेका थिए ।

उक्त प्रदर्शनमा अभिनेत्री निशा अधिकारी लगायतका थुप्रै कलाकारहरूले पनि सहभागिता जनाएका थिए । निशा अधिकारी र २०१७ की मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठ ‘कोभिड-१९ नेपाल: इनफ इज इनफ’ ग्रुपका मोडरेटर पनि हुन् ।

बुधबार र बिहिबार पनि प्रदर्शनले निरन्तरता पायो । बिहीबारको प्रदर्शनमा अझ धेरै मानिसहरु सहभागी भए । प्रदर्शन काठमाडौँमा मात्र सिमित भएन, वीरगञ्ज, धनगढी, पोखरा, बिराटनगर, सुर्खेत, चितवन लगायतका विभिन्न स्थानमा पनि प्रदर्शनहरु भए । काठमाडौँमा प्रदर्शनकारीहरु माथि प्रहरीले पानीको फोहोरा, आश्रुग्यास र लाठी समेत बर्षायो ।

शुक्रबार पनि देशका विभिन्न स्थानहरुमा प्रदर्शन भएका छन् भने शनिबारको लागि पनि झन् भब्य प्रदर्शनको लागि आह्वान गरिएको छ । प्रदर्शन निरन्तर चलिरहने सम्भावनाका कारण गृह मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ‘लकडाउनको बेला प्रदर्शनमा सहभागी भएमा ६ सय रुपैयाँ जरिवाना र ६ महिनासम्म जेल हुने’ चेतावनी दिएको छ ।

अभिनेत्री निशा अधिकारीले युवाहरुले स्वतस्फुर्त रुपमा गरेको यस्तो खालको शान्तिपूर्ण प्रदर्शनलाई राजनीतिक पार्टीहरुले कब्जा गर्न नहुने बताइन् । उनले आफुहरुको प्रदर्शन गैह्रराजनीतिक र शान्तिपूर्ण भएको साथै आफुहरुले सामाजिक दुरी कायम गरेर, सम्पूर्ण गाइडलाइनहरु पालना गरेर प्रदर्शन गरेको जानकारी दिईन् ।

उनले यो प्रदर्शन युवाहरुको स्वसंचालित अभियान भएको र यसमा कोहि पनि लिडरको रुपमा नरहेको जानकारी दिदै शनिबारको प्रदर्शन शान्तिपूर्ण बनाउनको लागि सामाजिक संजालको ग्रुप र पेज मार्फत सबैलाई सचेत गराइएको जानकारी दिईन् । उनले प्रदर्शनमा सहभागी भएकाहरु कसैको लहैलहैमा नआएको हुनाले पनि उनीहरु संयमित भएको बताइन् । उनले सहभागी हुनेहरुलाई पार्टीगत र अराजकता फ़ैलाइने खालको नाराबाजी नगर्न र पार्टी बिशेषको उधेश्य लिएर प्रदर्शनमा नआउन आग्रह गरेकी छिन् । उनले कोहि मानिस राजनीतिक पार्टीसंग सम्बद्ध भएपनि प्रदर्शनमा पार्टीको अजेण्ड नलिई, विसुद्ध एक आम नागरिकको हैसियतले भने सहभागी हुन सक्ने बताएकी छिन् ।

अभिनेत्री सुरक्षा पन्तले मेरोफिल्म संग कुरा गर्दै पहिले सामाजिक संजालबाट अभियान चालिएको र पछि लकडाउन केहि खुकुलो भएपछि सडकमै उत्रिएर खवरदारी गर्नुपर्छ भनेर आफुहरु सुरक्षित तरिकाले प्रदर्शनमा निस्केको जानकारी दिईन् । उनले कोभिड-१९ परिक्षणको लागि भरपर्दो पिसिआर विधिको सट्टा अविश्वसनीय आरडीटि विधिको प्रयोगले स्थिति झन खराब हुदै जाने भन्दै पिसिआर टेस्टको दायर बढाउनु पर्ने, कोभिड-१९ को लागि खर्च भएको भनिएको १० अर्बको पारदर्शी हिसाब देखाउनु पर्ने आफुहरुको माग रहेको बताइन् । उनले भारतबाट नेपाल फर्केका थुप्रै नागरिकहरु माथि अमानवीय व्यवहार गरिएको, उनीहरुलाई राखिएको क्वारेन्टाईन स्थल अब्यबस्थित भएको भन्दै आफुहरुले प्रदर्शन मार्फत सरकारलाई झक्झकाउन खोजेको बताइन् ।

पन्तका अनुसार बालुवाटारमा पहिलो दिन भएको प्रदर्शन शान्तिपूर्णनै रहेको तर अन्तिम अन्तिम समयमा केहि मानिसहरुको असमझदारीको कारणले भद्रगोल भएको थियो । बिहिबारको प्रदर्शनको अन्तिम अन्तिम समयमा पनि केहि मानिसहरुले नाराबाजी गरेको कारण प्रदर्शन अब्यबस्थित भएको बताउदै उनले केहि राजनीतिक पार्टीका मानिसहरु आफ्नो स्वार्थ सहित प्रदर्शनमा घुसपैठ गरेको हुनसक्ने बताइन् । शनिबारको प्रदर्शनमा अझ धेरै मानिसहरु सहभागी हुने र ब्यबस्थित बनाउनको लागि अझ धेरै स्वयमसेवकहरु परिचालन गरिने साथै आफुहरुले आफ्नो गाइडलाइनमा बसेर प्रदर्शन गर्ने उनले जानकारी दिईन् । आफुहरु कुनै राजनीतिक पार्टीको कार्यकर्ता नभएको भन्दै उनी भन्छिन् – ‘सरकारलाई प्रश्न गर्दा हामी आफैले पनि क्रियटिभ भएर गर्नुपर्छ, हाम्रो लडाई सरकार भन्दा पनि सिस्टमसंगको हो’ ।

मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले महामारीसंग लड्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको, सीमामा नेपालीहरुले दु:ख पाइरहेको, अपारदर्शी तरिकाले पैसा खर्च गरिएको बताउदै सरकार केवल लकडाउनको अवधि बढाउदै चुपचाप बसिरहेको गुनासो गरिन् । उनी आफुलाई चित्त नबुझेका कुराहरु बारे पहिले देखिनै इन्स्टाग्राममा लेख्ने गर्थिन पछि ‘कति सामाजिक संजालबाट मात्र आफ्नो कुराहरु राख्ने ?’ भनेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने निर्णय गरिन् । आफुहरुले शान्तिपूर्ण ढंगले, सामाजिक दुरी कायम राखेर प्रदर्शन गरेको बताउदै प्रदर्शनकारीहरु राजनीतिक प्रभावबाट टाढा रहेको र सबैजना देशको भबिष्य प्रति सचेत रहेको बताइन् । उनले असक्षम सरकारको विरुद्ध आफुहरुको प्रदर्शन केन्द्रित रहेको जानकारी दिईन् ।

नग्मा बिहीबारको प्रदर्शनमा सहभागी थिईनन् तर राजनीतिक पार्टीका मान्छेहरु सहभागी भएकोले प्रदर्शनको शान्तिपूर्ण वातावरण बिग्रिएको उनले बताइन् । मेरोफिल्म संग कुरा गर्दै शनिबारको प्रदर्शनलाई ब्यबस्थित बनाउनको लागि आफुहरुले अजेण्डाहरु तयार पारेको र राजनीतिक पार्टीहरुलाई हस्तक्षेप नगर्न आग्रह गरेको जानकारी दिईन् । उनले शनिबार माइतीघरमा धेरै मानिसहरु आउने सम्भावना रहेको र सबैले आफ्नो ख्याल आफैले राख्नु पर्ने भन्दै कसैलाई पनि आफुहरुले आउनुस भनेर नबोलाएको तर आफ्नो इच्छा छ भने सहभागी हुन आग्रह गरेकी छिन् । उनले शनिबारको लागि एउटा मेडिकल टिमको पनि व्यवस्था गरिएको र ठुलो संख्यामा स्वयंसेवकहरु खटाउने तयारी गरिएको जानकारी दिईन् । उनले शनिबारको प्रदर्शन करिब १ घण्टा देखि १ घण्टा ३० मिनेट सम्मको हुने र प्रहरीले हस्तक्षेप गरेको खण्डमा पनि आफुहरु तटस्थ रहने योजना सुनाइन् । सरकारले प्रदर्शन गर्नेलाई कारबाही गर्ने घोषणा गरे पछि केहि मानिसहरुमा शंका तथा डर उत्पन्न भएको स्वीकार गर्दै उनले आफुहरुको मागबारे स्पष्ट रुपले लेखिदिन संचारकर्मीहरुलाई आग्रह पनि गरेकी छिन् ।