कसैको ‘मोहरा’ नबनुन्, सेलिब्रेटी


‘इनफ इज इनफ’ भन्दै देशभर युवाहरु सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका छन् । बालुवाटार हुँदै देशभर फैलिएको यो आन्दोलनको माग के हो त्यति धेरै स्पष्ट भइसकेको छैन । सतहमा हेर्दा भने आन्दोलनकारीले निम्न बुँदामा सरकारलाई च्यापीरहेका  छन् ।

१. शतप्रतिशत पिसिआर टेस्ट गर्नुपर्ने

२. क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुनुपर्ने

३. मेडिकल क्षमता बिस्तार गर्नुका साथै स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र स्वाभिमानको सुनिश्चितता गर्नुपर्ने

४. कोरोना नियन्त्रणमा गरिएको भनिएको १० अर्बको हिसाब पारदर्शी गर्नुपर्ने

५. सरकार जवाफदेही बन्नु पर्ने ।

निश्चय नै अहिले आन्दोलनकारीले उठाएका केही माग सान्दर्भिक छन् तर यति जरुरी पनि छैनन् कि त्यसका लागि लाखौं मानिस सडकमा उत्रेर सरकारविरुद्ध प्रदर्शन गर्नुपरोस् ।

क्वारेन्टाइनको मापदण्ड पुर्याउने मामलामा सरकारको आलोचनाबाहेक बाँकी कुनै विषयमा पनि सर्वसाधारणबाट सरकारको आलोचना तिख्खर सुनिएको छैन । तर, बालुवाटारमा अचानक जम्मा भएको भिडले अमूर्त मागसहित यो विधि भिड जम्मा गर्ने कुरा यही कारण शंकाको घेरामा परेको छ ।

बालुवाटार हुँदै देशभर फैलिएको यो आन्दोलनको फ्रन्टलाइनमा केही सेलिब्रेटी पनि छन् । ‘कोभिड १९ नेपाल, इनफ इज इनफ’ नामको पेज खोलेर आन्दोलनको नेतृत्व गरिरहेका सेलिब्रेटीहरु मध्ये निशा अधिकारी, सुरक्षा पन्त र नग्मा श्रेष्ठ यो पेजका एडमिन हुन् । उनीहरुकै आग्रहमा अन्य धेरै सेलिब्रेटीले प्रदर्शनमा सहभागिता जनाइरहेका छन् ।

तर, प्रदर्शन चर्कंदै जाँदा यसले राजनीतिक रङ पाइरहेको छ । युवाहरुको स्वतन्त्र आन्दोलन भने पनि केही दिनयता पार्टीका भातृ संगठन भिडमा पसेर घुसपैठ गरिरहेको समाचार आउन थालेका छन् । यति मात्र होइन, सेलिब्रेटीले हाँकेको यो आन्दोलन यतिबेला जोर पकडिरहेको छ जतिबेला कोभिड १९ का कारण विश्व स्वास्थ्य संगठनले १ मिटरको दूरीमा बस्न सुझाव दिएको छ । जनस्वास्थ्य विद डा रविन्द्र पाण्डेले जुलुस, चिच्याउँदा, नारा लगाउँदा सिटी फुक्दा, खोक्दा वा हाछिउँ गर्दा कोभिड भाइरस सर्न सक्ने बताइरहेका छन् । यस्तोमा १० अर्बको हिसाब माग्ने तरिका सही हो कि होइन, सेलिब्रेटीले मनन गर्नु पर्छ । ।

यति मात्र होइन, यो आन्दोलन यतिबेला चर्किएको छ जतिबेला सरकार संसदमा नयाँ नक्सा पारित गर्ने संघारमा छ । सरकारले शनिबार १ बजे लिपुलेक,लिम्पियाधुरा सहितको निसानछाप पारित गर्ने कार्यतालिका छ । केही दिनअघि भएका प्रदर्शनलाई लिएर नै भारतीय मिडियाले नेपालको प्रदर्शन नयाँ नक्सा सार्वजनिक कार्यक्रम विरुद्ध भनेर प्रचार गरिरहेका छन् । अझ नक्सा पास हुने दिन नै यस्तो प्रदर्शन गर्नुको सिधा अर्थ हो, भारतीय मिडियाको कपोलकल्पित तर्कलाई बल पुर्याउनु । भोलिको आन्दोलनलाई भारतीय मिडियाले थप मसला हालेर प्रस्तुत गर्नेछन् र यसले स्वाभिमानी नेपाली चित्त दुख्नेछ ।  यो सबको अपजस नेपाली सेलिब्रेटीको टाउकोमा आइपर्न सक्छ ? के उनीहरु यसका लागि तयार छन् ?

सरकारको काम कारबाहीसँग असहमत हुने कारण होलान । दुई तिहाइ बहुमत प्राप्त केपी ओली सरकारले अपेक्षा अनुरुप कुनै पनि काम गर्न सकेको छैन । तर, यसो भन्दैमा कोभिड १९ को संक्रमितले दिनदिनै रेकर्ड राखिरहेको समयमा हुलका हुल बोलाएर आन्दोलन गर्नु कमसेकम अहिलेको समयमा जायज मान्न सक्ने ठाउँ छैन । यसरी दुनियाँ बोलाउनु अघि सेलिब्रेटीले आफ्नै टाइमलाइन सम्झिए हुन्छ । उनीहरुले कसरी जनतालाई संक्रमणको समयमा घरमै बस्न ज्ञानी बनेर सल्लाह दिएका थिए । के उनीहरुका लागि संक्रमणको समय सकिएको हो ?

वर्षा राउतले झुक्किएर राष्ट्रियताको विषयमा बोल्दा उनले कुन तहको आक्रमण झेल्नु पर्यो, त्यो हामीबाट छिपेको छैन । आशा गरौं, कुनै अर्को सेलिब्रेटी यस्तो कुराको भिक्टिम बन्न नपरोस् । सरकारलाई जवाफदेही बनाउन जम्मा भएको यो भिडको ठूलो अर्थ छ, यो कुरा सरकारले बुझ्नु पर्छ । यसलाई मध्यम वर्ग वा उच्च वर्गको आन्दोलन गर्ने फेन्टासीको रुपमा मात्र बुझ्नु हुन्न । तर, पनि यसको उद्देश्य र भविष्यलाई लिएर जुन शंका उपशंका उब्जन थालेका छन्, यसको नेतृत्व गरिरहेका सेलिब्रेटीले यो कुराको पनि जवाफ दिनु पर्नेछ । तत्कालका लागि उनीहरुले कसैको ‘मोहरा’ होइनन्, यति विश्वास दिलाउनु सक्नु ठूलो उपलब्धि हुनेछ ।