नेपाली फिल्ममा नातावाद: डिप्रेसनको कारण बनिरहेकाे हाे?

‘नेपाली फिल्म क्षेत्रमा धेरै यस्ता व्यक्ति छन् जसले कला र कलाकारितालाई भन्दा आफ्नालाई बढी महत्व दिन्छन् । कलाकार चाहियो भन्दै विज्ञापन पनि गरिन्छ तर जब फिल्म घोषणा हुन्छ, त्यसपछि कलाकारको अनुहार हेर्दा नयाँ कोही हुँदैनन्, आफ्नै छोरा, छोरी, भाई, भतिजा हुन्छन् ।’

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा बढ्दै गएको ‘नेपोटिज्म’ अर्थात् नातावाद/कृपावादलाई लिएर अभिनेत्री नम्रता सापकोटाले गरेको टिप्पणी हो । सोमबार राति ८ बजे फेसबुक लाइभमा आएर सोसियल मिडियामा सहानुभुति देखाउने ढोँगी (फेक पिपुल) मान्छेहरुप्रति समर्पित भन्दै लामो आक्रोश व्यक्त गरिन् ।

‘सरी बट रियल्ली आई एम नट सरी’ भन्दै उनले नेपाली फिल्म क्षेत्रमा आफ्नै छोरा–छोरीलाई लिएर फिल्म खलाउने र यति–उति भन्दै पारिश्रमिकको वाहियात हल्ला चलाउने प्रवृत्ति बढेको समेत उल्लेख गरिन् । ‘जसको अभिनय जिरो छ, जसको राम्रो पकड छ, यहाँ इन्डष्ट्रीमा त्यस्तै मान्छेलाई बढी भ्यालु दिइन्छ । संघर्ष गरेर आएको मान्छेलाई त यहाँ गन्दै गनिँदैन,’ उनले आक्रोशित भावमा भनेकी छिन्, ‘अनि कलाकारहरु डिप्रेसनमा नगएर केमा जान्छन् त, तपाई आफै सोच्नुस् न ।’

त्यसो त नातावादलाई लिएर यति खरो टिप्पणी गर्ने नम्रता पहिलो अभिनेत्री होइनन् । एक वर्षअघि अभिनेत्री वर्षा शिवाकोटीसमेत फेसबुकमा लामो स्टाटस लेख्दै फिल्म क्षेत्रको यही प्रवृत्ति इंगित गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘न म स्टार किड, न कसैको गर्लफ्रेन्ड, न हिट ब्यानरको रेगुलर मेम्बर, न कुनै युट्युब च्यानलको अफिसियल हिट एक्टर । बस्, कामको परिचय बनाउन निरन्तर लागिरा’को विचरा ‘सो कल्ड रिजर्भ आर्टिस्ट । अनि, हलसम्म मेरा लागि किन जाने ? वेस्ट अफ टाइम ! फिल्मको त के कुरा गर्नु ? हिट एक्टर्स हिट मुभी !’

त्यसो त नेपालमा भन्दा बलिउडमा ‘नपोटिज्म’को समस्या व्याप्त छ । बलिउडमा मौलाउँदो नातावादबारे एक टेलिभिजन कार्यक्रममा भारतीय अभिनेत्री कंगना रनावतले कडा बोलेपछि भारतमा यो विषयले बौद्धिक बहसको आकार लिएको थियो । नेपालमा भने अभिनेत्री शिवाकोटीको स्टाटसपछि नै यो विषयले चर्चा पाएको हो ।

त्यसो त परिवारवादको सन्दर्भ उठ्दा अभिनेत्री कृति सेननलाई बिर्सन मिल्दैन । एक महिनाअघिमात्रै उनले बलिउडमा विस्तार भइरहेको परिवारवादमाथि कडा टिप्पणी गरेकी थिइन् । स्टार किडलाई अभिनयमा जम्न निकै सहज हुने उनको टिप्पणी थियो । ‘यदि तपाईं फिल्म फेमिलीसँग सम्बन्धित हुनुहुुँदैन भने पहिलो फिल्म रिलिज नभई तपाईंले दोस्रो फिल्म पाउनु हुँदैन । तर, फिल्म फेमिलीका हकमा सजिलै पाउनु हुुन्छ,’ एक अन्तरवार्ताका क्रममा उनले भनेकी थिइन् ।

उनलाई त्यतिबेला प्रश्न सोधिएको थियो– ‘के तपाईंलाई कहिल्यै कुनै फिल्ममा स्टार किडले रिप्लेस गरेका थिए ?’

जवाफमा उनले भनेकी थिइन्, ‘मलाई थाहा छैन, फोन गरेको थियो वा थिएन ? तर, कोही थियो, जो फिल्म फेमिलीबाट थियो वा चर्चा निकै ज्यादा थियो, उनले मलाई रिप्लेस गरेकी थिइन् । तर, यसको कारण मलाई थाहा छैन । हुनसक्छ, डिरेक्टरलाई उसको निकै आवश्यकता पर्यो । तर, यस्तो मसँग धेरैपल्ट भएको छ ।’

फिल्म परिवारबाट को–को आए ?
नेपालमा घरका सदस्यलाई फिल्ममा भित्राउने ट्रेन्ड नयाँ होइन, पुरानै प्रवृत्ति देखिन्छ । तर, यसरी फिल्म परिवारबाट आएकाहरुमध्ये कमैले मात्र राम्रो छाप छाड्न सकेको देखिन्छ ।

अहिलेसम्म को–को कलाकार फिल्म परिवारबाट आए त, यसबारे संक्षिप्त चर्चा गर्दा अभिनेता राजेश हमाललाई छुटाउन मिल्दैन । उनी आफ्नै मामा दीपक रायमाझीको फिल्म ‘युगदेखि युगसम्म’बाट फिल्म क्षेत्रमा प्रवेश भएका थिए यद्यपी उनी यस्तो अपवाद भए जसले आफ्नै बलबुुताले फिल्म क्षेत्रमा लामो समय राज गरे । तर, रायमाझीले नै भित्राएका अर्का भान्जा किरणप्रताप केसी भने फिल्म क्षेत्रमा लामो समयसम्म टिक्न सकेनन्, त्यसैले अमेरिका पलायन भए ।

त्यस्तै फिल्म परिवारबाट आएर आफ्नो स्टारडम कायम राख्न सफल देखिएका अभिनेता हुन् भूवन केसीका छोरा अनमोल केसी । यद्यपी समीक्षकले उनको अभिनय कमजोर भएको भन्दै सधैँ आलोचना गर्ने गर्छन् ।

त्यस्तै अभिनेत्री झरना थापाले समेत आफ्नी छोरी सुहाना थापालाई हिरोइन बनाएकी छिन् । अमेरिकामा साइकोलजी पढ्दै गरेकी छोरीलाई घर बोलाएर उनले आफ्नै निर्देशनमा ‘ए मेरो हजुर–३’ मा अभिनय गराइन् । अनमोलसँग जोडी बाँधेर अहिले ‘ए मेरो हजुर–४’ पनि निर्माण भइरहेको छ ।

त्यस्तै निर्देशक शोभित बस्नेतले सात वर्षको उमेरमै आफ्ना छोरा सलोन बस्नेतलाई फिल्म क्षेत्रमा भित्राएका हुन् । यद्यपी उनी अहिले फिल्म क्षेत्रमा सहायक भूमिकामा सिमित देखिन्छन् । प्रमुख भूमिका उनलाई फापेको छैन । शोभितकै भाई जयकिशन बस्नेत समेत फिल्म क्षेत्रमै अभिनेता छन् ।

फिल्म निर्देशक नारायण पुरीका छोरा संयम पुरी समेत ‘सायद’ फिल्मबाट अभिनयमा डेब्यू भएका थिए । यद्यपी फिल्म खासै नफापेपछि पछिल्लो समय उनी फिल्ममा देखिएका छैनन् ।

वरिष्ठ अभिनेता टीका पहाडीका छोरा गौरव पहाडी पनि फिल्म क्षेत्रमै सक्रिय छन् । फिल्म परिवारबाट आएर अभिनयमा गम्भिर देखिएका थोरै कलाकारको सुचीमा उनको नाम पनि अटाउँछ । मुम्बई पुगेर अभिनय सिकेका उनले बलिउडमा छिर्ने प्रयत्न नगरेका होइनन् तर असफल भएपछि यतै फर्किएका थिए ।

त्यस्तै हास्यकलाकार किरण केसीका छोरा सुदन केसीसमेत ‘दाल भात तरकारी’बाट फिल्म निर्देशकका रुपमा देखापरे । निर्माता सन्तोष सेनले आफ्नो छोरा आयुब सेनलाई फिल्म ‘मेरी मामु’मा अभिनय गराएर सात वर्षको उमेरमै कलाकार बनाए । एक समयका हिट फिल्म निर्देशक तुलसी घिमिरेले समेत फिल्म ‘दर्पणछायाँ–२’मार्फत आफ्ना दुई छोरी भावना र पञ्चमीलाई फिल्म क्षेत्रमा भित्राए । जेठी छोरी भावनाले कला निर्देशकको जिम्मेवारी सम्हालेक थिइन् भने कान्छी पञ्चमीले सह–निर्देशक ।

अभिनेता शिव श्रेष्ठले समेत आफ्नो छोरा शक्तिलाई फिल्म क्षेत्रमा भित्राइसकेका छन् । अभिनेत्री करिश्मा मानन्धरको पनि आफ्नी छोरी कवितालाई हिरोइनमा जमाउने चाहना छ तर अहिलेसम्म सफल हुन सकेको छैन ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि ‘के म तिम्रो होइन र’ फिल्ममार्फत् आफ्नै भतिज आर्यन अधिकारीलाई हिरो बनाएका छन् । अभिनेत्री रेखा थापाले आफ्नै जेठी दिदीका छोरा आभाष अधिकारीलाई फिल्म ‘रामप्यारी’मार्फत् फिल्म क्षेत्रमा डेब्यु गराएकी थिइन् ।

चर्चित फाइट डिरेक्टर राजेन्द्र खड्गीले ‘नथिङ पोसिबल’मा छोरी रागिनी र नाती आर्यन खड्गीलाई अभिनय गराएका थिए । निर्माता अशोक शर्माले समेत अघिल्लो साल आफ्नो छोरा अंकित शर्मालाई हिरो बनाएर फिल्ममा भित्राइसकेका छन् ।

अनमोलबाहेक अरु जति पनि फिल्म परिवारबाट आएका छन्, फिल्म क्षेत्रमा उनीहरुको बलियो उपस्थिती देखिन सकेको छैन । तर, आफ्नै परिवारका सदस्यलाई फिल्ममा ल्याउने ट्रेन्ड बढ्दा आफूहरुले काम पाउन छाडेको गुनासो संघर्षरत कलाकारबाट बढ्न थालेको छ ।

अभिनेत्री नम्रताले त मौलाउँदै गरेको आफन्तवाद र नातावादकै कारण कलाकारहरु डिप्रेसनमा गइरहेको परिस्थिती संकेत गरेकी छिन् । त्यसो हो भने यसबारे बहस किन नगर्ने ?