पलको गुनासो, ‘फिल्ममा काम गरेको पैसा पाउन दुई हात जोड्नुपर्ने ?’

बलिउडसँगै नेपाली फिल्म क्षेत्रमा अहिले नातावाद, कृपावाद, गुटबन्दी र डिप्रेसनको मुद्दा उठिरहेका बेला अभिनेता पल शाहले पारिश्रमिकको मुद्दा उठाएका छन् । निर्मातासँग काम गरेको फिल्मको पारिश्रमिक उठाउन कलाकारले यहाँ ठूलै महाभारत लड्नुपर्ने उनको आशय छ ।

‘के तपाईले परिश्रम गरेअनुसार समयमा आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नुभएको छ,’ फेसबुकमा स्टाटस लेख्दै उनले प्रश्न गरेका छन्, ‘के तपाईले आफूूले गरेको फिल्मको पैसा पाउन वर्षौवर्षसम्म डिरेक्टर, प्रोड्युसरसँग दुुई हात जोड्नुपरेको छ ? यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौला भन्ने सोच गरेका कलाकारलाई त्यही फिल्मको पैसा पाउन वर्षौ कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?’

उनी यतिमै रोकिएका छन् । उनको स्टाटस पढ्दा उनले स्वयम् पारिश्रमिकका कारण निर्माताबाट ठूलै दुःख पाएको देखिन्छ । यद्यपी उनले प्रवृत्ती इंगित गर्न खोजेका छन्, त्यसैले कुन फिल्म र कुन निर्माताले पारिश्रमिकलाई लिएर दुःख दिएको खुलाएका छैनन् ।

फिल्मको गरेको सम्झौताअनुसार पारिश्रमिक माग्दा निर्माताहरु फिल्मले सोचेजस्तो व्यापार नगरेकोभन्दै पन्छिने गरेको उनको भनाई छ । ‘यदि ५० प्रतिशत छुट गरिदिने भए गर, नभए पछि दिउँला भन्दै २–३ वर्ष भुलाउँदा त्यो कलाकारको मनमस्तिष्कमा कस्तो सोच आउँला,’ उनको दुःखेसो छ,‘र, त्यही प्रोड्युसरले भन्छ हाम्रो नेपाली फिल्म इन्डष्ट्रीलाई बचाउनु छ, एकले अर्कालाई सपोर्ट गरि अघि बढ्नु छ। ’

उनले कोही पनि व्यक्ति डिप्रेसनको सिकार हुनुअघि नै यो विषयमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको समेत बताएका छन् ।

नेपाली फिल्ममा यसरी पारिश्रमिकको गुनासो उठेको यो पहिलोपटक होइन । यसअघि पनि थुप्रै कलाकारले यो विषय उठाउँदै आइरहेका छन् ।

एक वर्षअघि अभिनेता प्रदिप खड्काले फिल्म ‘रोज’बाट १० लाख रुपैयाँ पारिश्रमिक नपाएको गुनासो गरेका थिए । फिल्म रिलिज भएको पाँच महिना बितिसक्दासमेत आफूले २५ लाखमा सम्झौता गरेअनुरुप १५ लाख पारिश्रमिक पाएको र बाँकी १० लाख अझै नपाएको गुनासो गरेका थिए ।

अभिनेत्री वर्षा शिवाकोटी, अभिनेता कामेश्वर चौरसिया लगायत कलाकारले समेत विभिन्न समयमा निर्माताबाट काम गरेको पारिश्रमिक उठाउन ठूलै पापड बेल्नुपर्ने समस्या उठाउँदै आइरहेका हुन् ।