चलचित्र टिभी एप खोलेकी ऋचा शर्मा भन्छिन्, ‘सफल हुन्छौँ’

कोराना महामारीका कारण नेपाली फिल्म ठप्प छ । तीन महिनादेखि फिल्म हलहरू बन्द छन् । कहिले खुल्ने हो, कुनै टंगो छैन । खुलिहाले पनि दर्शक आउने ग्यारेन्टी छैन । यही कारण केही फिल्महरू ‘कोपिला’, ‘हिरो रिटन्र्स’ लगायतले हलमा रिलिज नगरिकन टिभीमा फिल्म रिलिज गरिसके ।

कतिपय फिल्मकर्मी यसबेला बलिउडमा झै डिजिटल रिलिजको राम्रो विकल्पको खोलि गरिरहेका छन् । यसै आवश्यकतालाई मध्यनजर गर्दै अभिनेत्री ऋचा शर्माले चलचित्र टिभी एप सुरु गर्ने घोषणा गरेकी छिन् । यसको वेभसाइटसमेत लन्च भइसकेको छ । यस विषयमा उनीसँग गरिएको छोटो कुराकानी :

चलचित्र टिभी एप कहिलेबाट सुरु गर्दै हुनुहुन्छ ?
यसको वेबसाइट त खुलिसक्यो । अब एप पनि यसै साताबाट लन्च गर्ने तयारीमा छौँ ।

यो एपबाट हामीले के–के हेर्न पाउँछौँ ?
यसबाट हामीले नयाँ नयाँ नेपाली फिल्महरू हेर्न पाउनेछौँ । फिचर फिल्मबाहेक सर्ट फिल्म र डकुमेन्ट्रहरू पनि यसमा उपलब्ध हुनेछन् । त्यही कारण मैले यसको नाम नै ‘चलचित्र टिभी’ राखेको हो ।

एक्कासी एप चलाउने सोच कसरी आयो ?
अब नेपालमा होस् या विदेशमा सिनेमा घर पुर्णरुपमा सञ्चालनमा आउन निकै समय लाग्छ । दर्शक तथा हामीहरूले अरुको फिल्महरू सशुल्क तिरेर हेरिरहेका पनि छौँ । तर, स्तरिय तरिकाले डिजिटल सिस्टमबाट नै फिल्म देखाऊँ भन्ने उद्देश्यका साथ यो एप खोलेका हौँ ।

तपाई एक्लैले आँट गर्नुभएको हो कि अरु पनि पार्टनर हुनुहुन्छ ?

होइन, मसहित चारपाँच जना साथीहरू पनि हुनुहुन्छ । उहाँहरू अमेरिकामा हुनुहुन्छ । उहाँहरूले उतैबाट यसलाई खोल्नुभएको हो ।

फिल्म हेर्नका लागि अरु पनि थुप्रै एप खुलिसकेको अवस्था छ । प्रतिष्पर्धा गर्न सकिएला त ?

सुरुमै हार मान्यो भने त कहाँ सकिन्छ र ? सफल भइन्छ भनेर नै आँटेका हौँ । त्यसैले सफल हुनेमा पूर्ण विश्वस्त छौँ ।