निर्मलाको न्यायका लागि कलाकार भन्छन् : ‘सरकार भेटियो न्याय भेटिएन’

दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि कलाकारहरुले आवाज उठाउन थालेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् सरकारलाई फेरि दबाब दिन सुरु गरेका छन् ।

अभिनेत्री रेखा थापाले फेसबुकमा ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने पोष्टर शेयर गर्दै निर्मलाले न्याय नपाउनु छोरीहरुको मनमा भय चलाउनु रहेको बताउँदै लेखेकी छन्, ‘निर्मलाले न्याय नपाउनु भनेको यो देशका लाखौं छोरीहरुको मनमा भयको राज चलाउनु हो । लाखौं किशोरीका आमा(बुवामाथि एउटा डर लाद्नु हो । समग्रमा हाम्रो देश छोरीको निम्ति स्वर्णिम नहुनु हो ।’

त्यस्तै,आयुष्मान देशराज जोशी, वर्षा सिवाकोटी, केकी अधिकारी, सन्ध्या केसी, दीपाश्री निरौला, वर्षा राउत, बेनिशा हमाल, प्रियंका कार्की, अनुपविक्रम शाहीलगायतले पनि सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मल पन्त’ भन्दै निर्मलाको न्यायको माग गरेका छन् । उनीहरुले निर्मलाको हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेका छन् ।

शनिबार साँझदेखि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताको फेसबुकको तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान चलाएका छन् ।