राजेश हमालको सुझाव सरकारले सुन्ला र ?

अभिनेता राजेश हमालले सरकारलाई बेला बेलामा विभिन्न सुझावहरु दिइरहेका हुन्छन् । केहि समय अघि विभन्न दातृराष्ट्रसँग कुरा राखेर खोपको लागि पहल गर्न सुझाव दिएका थिए । हालै सिन्धुपाल्चोक, मनाङ लगायत जिल्लाका बाढी प्रभावितलाई सबैले सहयोग गर्न आग्रह गरेका छन् ।
असारको पहिलो दिन नै वर्षाका कारण बाढी पहिरो आउँदा सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला बढी प्रभावित बन्न पुगेकाछन् । बाढीपहिरोका कारण त्यहाँका धेरै घरपरिवार प्रभावित भएकालाई राहत स्वरुप सबैले सहयोग गर्नुपर्ने सुझाव हमालले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

भिडियो सन्देशमा हमालले भनेका छन्, ‘पीडितहरुलाई हामी सबैले सहयोग गर्नुपर्छ । हामी नेपाली दाजुभाई, दिदीबहिनी, सरकार, देश–विदेशमा भएका नेपालीहरुले हातेमालो गरेर जो व्यक्तिहरु पीडित हुनुहुन्छ उहाँहरुको घाउमा मल्हम लगाउने वा उहाँहरुको जीवनलाई केही हदसम्म सहज बनाउने कोशिस हामी सबैबाट हुनुपर्छ ।’
उनले सुझावमा दैविप्रकोप प्रभावितलाई दीर्घकालिन व्यवस्थापनका गर्न सहयोग गर्नुपर्ने आवश्यकता रहेको औल्याउदै त्यसका लागि पनि सबैले ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् । यसका लागि हामी सबैले हातेमालो गर्यौ भने पीडामा परेका दाजुभाई–दिदीबहिनीहरुलाई उकास्न सक्ने बताए ।
उनले भने,‘प्रकृति, वातावरणको खिलाप त गरिरहेका छैनौं । त्यसको मर्यादामा आँच आउने किसिमले हामी हाम्रो जीवनशैली, संरचनाहरु त बनाईरहेका छैनौं ? त्यसमा हामीले ध्यान दिनुपर्ने हुन्छ । जबसम्म प्रकृतिलाई हामीले सम्मान गर्दैनौं, प्रकृतिले हाम्रो सम्मान कहिल्यैपनि गर्दैन् । त्यो भन्दैमा दैविप्रकोप आउँदै नआउने भन्ने होइन् । तर, दैविप्रकोप आउँछ र यसले यस्तो क्षति गर्छ भन्नेमा होसियार हुनुपर्ने हुन्छ । त्यो होसियारीता हामीले आफ्नै व्यवहारबाट देखाउनुपर्ने हुन्छ ।’

उनले वातावरण र प्रकृतिलाई चाहिनेभन्दा बढी बिथोलिरहेका छौं कि भन्ने कुरा सबैले मनन गर्नुपर्ने बताएका छन् ।