नेपाल युरोपियन नियूफको ब्रान्ड एम्बेस्डरमा दयाहाङ राई

काठमाडौँ- कलाकार दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियूफ) को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक यूरोपियन यूनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतका रुपमा नियुक्त गरिएको हो ।

डेलिगेसनले युरोपियन युनियनको साइटमा लग इन गरेर चलचित्रमार्फत् युरोप र नेपालको सांस्कृतिक मिलनलाई हेर्न सकिने पनि जनाएको छ । यसमा विभिन्न चलचित्रहरू निःशुल्क हेर्न सकिन्छ । राईले फेस्टिभलसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन् । उनले महामारीका कारण चलचित्रका गतिविधि ठप्प भएको समयमा भर्चुअल रूपमै भए पनि हुने फेस्टिभलले चलचित्रकर्मीमा ऊर्जा सञ्चार गर्ने बताए ।

आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रूपमा चल्ने नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दशौँ संस्करण हो । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्त्वपूर्ण अन्तर्क्रिया र गोष्ठीहरू पनि सञ्चालन हुने आयोजकले बताएका छन् ।