फिल्म ‘जुलुङ्गोे’लाई युनिसेफको आइरिस अवार्ड

नेपाली कथानक फिल्म जलुङ्गो (अ स्केरक्रो) फ्लोरेन्स चलचित्र महोत्सवमा युनिसेफ आइरिस अवार्ड जित्न सफल भएको छ । इटालीमा अक्टोबर २१ देखि २४ सम्म आयोजना गरिएको महोत्सवमा चलचित्र जलुङ्गोले यो अवार्ड जित्न सफल भएको हो । आफूले निर्देशन गरेको चलचित्रले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिभल २०२१ मा ‘युनिसेफ आइरिस ७५ अवार्ड’ हात पारेपछि निर्देशक राजेन्द्रप्रसाद खत्रीले खुशी व्यक्त गरेका छन् । यो चलचित्रमा किशोरीहरुलाई शैक्षिक कृयाकलापबाट रोक्ने साँंस्कृतिक पाटोका बारेमा चित्रण गरिएको छ ।

यो चलचित्रलाई भिजुअल सिम्बोलिजम र बाल अधिकार सम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्वपूर्ण सन्देशका कारण चयन गरेको निर्णायक टिमले जनाएको छ । चलचित्रमा हिमाली समुदायमा आफ्नी आमालाई जुलुङ्गो बनाउने सहयोग गर्ने नाममा विद्यालय जानबाट बञ्चित एक किशोरीको कथा समावेश गरिएको छ ।  आफ्नो चलचित्रले अवार्ड प्राप्त गरेपछि निर्देशक खत्रीले भने, ‘सत्य कथाहरुलाई प्रस्तुत गरी चलचित्रका माध्यमबाट म बालबालिकाहरूको अधिकारको वकालत गर्न चाहान्छु ।’

प्रतियोगितामा २९ देशका ३९ चलचित्र प्रदर्शन गरिएको थियो । यूआईएफएफले बालबालिकाबारे चलचित्र निर्माणमा उत्कृष्टताको पहिचान गर्न र संसारभरि बाल्यावस्थालाई चलचित्रको विषयवस्तुको रूपमा अन्वेषणमा प्रोत्साहित गर्नका लागि ‘आइरिस अवार्ड’ स्थापना गरिएको हो ।