‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज

काठमाडौं- नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा हुँदैछ ।

‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शोको फिनाले पोखराको लेकसाइट बाराही घाटमा ४ः३० बजेबाट शुरु हुनेछ । फिनालेको नेपाल टेलिभिजनमा लाइभ प्रशारण हुनेछ । फिनालेमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित हुने आयोजक नेपाल टेलिभिजनले जनाएको छ ।

‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूह प्रतिस्पर्धामा छ ।

यी दुईमध्ये एउटा समूहले आज उपाधि हात पार्नेछ भनेअर्को समूह स्वतः द्धितीय हुनेछ । त्यस्तै, तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूह प्रतिस्पर्धामा छ । यी दुई समूहको प्रतिस्पर्धामा एउटा समूह तृतीय हुनेछ भने अर्को समूहले सान्त्वना स्थान प्राप्त गर्नेछ । दर्शकले गरेको भोटको आधारमा विजेता छनोट गरिनेछ । साँझ ६ बजेसम्मका लागि भोटिङ खुल्ला गरिएको छ ।