महजोडी नेपाल टेलिकमको बजार प्रवर्द्धन दूत नियुक्त

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाको प्रवर्द्धनका लागि चर्चित हाँस्य कलाकारको जोडी महजोडीलाई बजार प्रवर्द्धन दूत नियुक्त गरेको छ ।

कम्पनी र कलाकारद्धय बीच बजार प्रवर्द्धन दूत नियुक्त सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल टेलिकममा आयोजित कार्यक्रमका बीच नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवश आचार्य तथा संयोजनकर्ता कम्पनी शुभ मिडिया होमका प्रबन्ध निर्देशक सरोज ओलीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिकमका बजार प्रवर्द्धन दूत मदनकृष्ण श्रेष्ठले सञ्चारको क्षेत्रमा सरकारी लगानीको नेपाल टेलिकमले सूचनाको सञ्जालमा आम जनतालाई जोडेर गुन लगाएको बताउनुभयो ।

उहाँले नेपाल टेलिकमले गुणस्तरीय सेवाको माध्यमबाट नेपाली जनतालाई अझ भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नु भयो ।

टेलिकमका अर्का बजार प्रवर्द्धनदूत हरिवंश आचार्यले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा नेपाल टेलिकम उत्कृष्ट हुन सकोस् भन्दै नेपाल टेलिकमको झण्डा मनमा राखेर नेपाल टेलिकमको सेवाको प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारी लगानीको र लाइन लागेर सेवा लिनु पर्ने नेपाल टेलिकमले प्रतिस्पर्धी बजारमा अब्बल बन्न चर्चित हाँस्य कलाकारहरुलाई बजार प्रवर्द्धन दूत नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

उहाँले नेपाल टेलिकमले ल्याण्ड लाइनबाट सेवाग्राहीलाई इन्टरनेटका साथै टेलिभिजन सेवा समेत उपलब्ध गराएको बताउनुभयो ।

प्रबन्ध निर्देशक अधिकारीले नेपाल टेलिकमले देशका ७७ वटै जिल्लाका ७०२ स्थानीय तहमा फोरजी सेवा उपलब्ध गराएको उल्लेख गर्नुभयो ।