पाँचौँ निफ महोत्सवमा ३८ देशका फिल्मबीच प्रतिष्पर्धा हुने, महोत्सव १७ चैतदेखि

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को पाँचौ संस्करण हुने भएको छ। निफ आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको हो ।

आयोजक निफले सोमबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै चैत्र १० गते हुने भनिएको महोत्सव चैत्र १७ गतेबाट हुने जानकारी दिएको हो। महोत्सवको मिति प्राविधिक कारणका कारण परिवर्तन गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए।

राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो । यस महोत्सवमा ३८ देशका ८९ फिल्महरुबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेण्ट्री तथा एनिमेटेड फिल्महरुको ७ वटा विधिको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । ७ वटा विधामा १४ वटा पुरस्कार दिइने पाठकले बताए।

‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने यस वर्षको नारा रहेको छ। यो वर्ष नेपाली प्रतिस्पर्धामा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको छ। प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पचास हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष पाठकले बताए।

कार्यक्रममा बोल्दै अभिनेता निर शाहले पहिलो संस्करणभन्दा यता परिष्कृत भएर आइरहेको बताए। उनले यस महोत्सवले नेपाली फिल्म क्षेत्रलाई थप शिक्षित बनाएको पनि बताए।

‘यो निफलाई मैले पहिलो संस्करणको बेलादेखि नै नियालेर आइरहेको छु । पहिलो संस्करणमा यसले असाध्यै धेरै संघर्ष गर्नुपरेको थियो । तर दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिस्कृत फम्र्याटमा प्रश्तुत गर्न सफल भयो ।’ उनले भने ।

यसपटक फिल्म हलमा भौतिक रुपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ । यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ । महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ । नेपाल अन्तर्राष्ट्रि फिल्म महोत्सवको आयोजनामा हुन लागेको यो महोत्सव पाचौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सव हो ।