रेखा थापाविरुद्ध युट्युबमा गालीगलौज गर्ने प्रहरी नियन्त्रणमा

अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा एक युवतीलाई प्रहरी नियन्त्रणमा ।

गालीगलौजको जाहेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।

रेखा थापा, ऋचा शर्मालगायत नायिकाहरूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै फागुन २० गते नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको थियो । थापाको तर्फबाट उनकी दिदी तारा थापाले जाहेरी दर्ता गराएकी थिइन् ।

पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पलको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्।

विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाका तर्फबाट उनकी दिदी ताराले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन्।

यस्तै प्रहरीका अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।