पूजालाई ‘अग्रज’ भन्दा ट्रोल बनिन् आँचल

केही समय अगाडि नायिका आँचल शर्मा महिलाहरुले टिकटक चलाउने र उनीहरु बढी क्रियटिभ हुने भन्दै अन्तरवार्ता दिएपछि ट्रोलको शिकार बनेकी थिइन् । आफ्नो बोलीका कारण बेलाबखत आलोचित भैरहने आँचल फेरि आफ्नै बयानका कारण ट्रोलरको निशानामा परेकी छिन् ।

उनले, आफ्नै सहकर्मी नायिका पूजा शर्मालाई आफ्नो अग्रज भएको बताएपछि उनको टिकटकमा मजाक उडाइएको छ । कतिपय प्रयोगकर्ताले आँचललाई अग्रजको अर्थ पनि थाहा नभएको भन्दै उनको ट्रोल गरिरहेका छन् ।

केही बर्ष अगाडि नायिका रेखा थापाले नायक भूवन केसीलाई ‘शताब्दी’ नायक भनेपछि उनको चर्को आलोचना भएको थियो । अहिले आँचलले पनि पूजालाई आफू भन्दा अग्रज भएको भन्दै उनीसँग आफ्नो कुनै प्रतिस्पर्धा नै नभएको बताएकी छिन् । आफू भन्दा धेरै अगाडि फिल्म क्षेत्रमा पूजा आएको भन्दै आँचलले उनी आफ्नो अग्रज भएको र उनलाई सम्मान गर्ने उल्लेख गरेकी छिन् ।

पूजाले फिल्म ‘थ्रि लभर्स’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् भने आँचलले फिल्म ‘नाई नभन्नु ल ४’बाट करिअर सुरु गरेकी थिइन् । फिल्म क्षेत्रमा आउनु अघि आँचल र पूजा दुबैले केही म्यूजिक भिडियोमा काम गरिसकेका थिए ।
यसैले, आँचल र पूजा एउटै जेनेरेशनको नायिका हुन् । तर, आँचलले पनि पूजालाई अग्रज भएको बताउँदै उनलाई धेरै पुरानी नायिका जस्तो सोचेको देखिन्छ ।

आँचलको लागि फिल्म क्षेत्रका अग्रजहरुमा करिश्मा मानन्धर, विपना थापा, निरुता सिंह, रेखा थापा’ लगायत पर्छन् । तर, आफू भन्दा केही बर्ष अगाडि मात्र यो क्षेत्रमा भित्रिएकी र समकालिन रुपमा एकसाथ काम गरिरहेकी नायिकालाई आँचलले अग्रज भन्दा उनको चर्को आलोचना भैरहेको छ ।