दर्शक प्रतिक्रियाले पुष्प र साम्राज्ञी उत्साहित


भोलि शुक्रबारदेखि देश भरका हलमा एकैसाथ रिलिज हुन लागेको फिल्म ‘तिम्रो मेरो साथ’को चितवनमा प्रिमियर गरिएको छ । फिल्मको प्रिमियरमा निर्देशक रमेश एम के पौडेल, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दीप क्षेत्री उपस्थित थिए । 

फिल्मको प्रिमियरको आयोजना चितवनको लक्की मिडिया हाउसले गरेको हो । 

प्रिमियरमा खचाखच भरिएका दर्शक माझ फिल्म हेरेपछि कलाकारहरू उत्साहित देखिएका छन् । फिल्मबाट आएको प्रतिक्रियाले उत्साहित भएको र देश भरका दर्शकले मन पराइनेमा विश्वस्त रहेको नायक पुष्प खड्काले बताए । 

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह प्रिमियरमा बोल्ड बनेर पुगेकी थिइन् । उनी पनि दर्शकले फिल्म मन पराएपछि खुशी देखिएकी छिन् ।  ‘रातो टीका निधारमा’ रिलिज भएपछि दर्शक माझ नदेखिएकी साम्राज्ञीका लागि यो फिल्म अग्निपरीक्षा समेत हो ।