राजेश हमालको गीत गाउने रहर


नायक राजेश हमालको मुखबाट २ वटा कुरा सधै सुनिन्छ । एउटा भर्खरै त बच्चा छु, अर्को राजेश हमाल पनि कहिले बुढो हुन्छ । 

बच्चा कहिले जन्माउने र उमेरको कुरा गर्ने हो भने राजेश हमाल सधै एउटै जवाफ दिन्छन् । अब, उनै हमालको मनमा अर्को एउटा रहर पनि खुबै पलाएको छ । त्यो हो, गीत गाउने । 

राजेश हमालले केही समय अगाडि ‘मन बुढो भएन’ बोलको गीत आफ्नै स्वरमा सार्वजनिक गरे । हमालको यो रहर पुरा त भयो, तर गायनमा उनी व्यवसायिक भने बन्न सकेनन् । 

बिहिबार आयोजना भएको गायक यश कुमारको नयाँ गीत ‘गल्ली’को सार्वजनिक कार्यक्रममा पनि राजेश हमालले ‘मन बुढो भएन’ २ लाइन गाए । संयोग पनि के भयो भने, ‘गल्ली’मा पनि रेश्मा घिमिरेको अभिनय छ जसले राजेश हमालको ‘मन बुढो भएन’ बोलको गीतमा अभिनय गरेकी थिइन् । रेश्मालाई देखेपछि त झन्, राजेश हमालको स्वरमा ‘मन बुढो भएन’ निस्कने नै भयो । 

फिल्म निर्देशन गर्ने भनेर लामो समयदेखि होमवर्क गरिरहेको बताउने राजेश हमाल अब गायनमा बढी केन्द्रित हुन थालेका छन् ।