रवि लामिछानेलाई नचिन्दा ट्रोलको शिकार बनिन् एलिना


एकातिर गायिका एलिना चौहानलाई स्टेजमा भ्याई नभ्याइ छ । ‘धोकेबाज हौँ तिमी’ बोलको गीतले स्टेजमा युवायुवतीलाई लोभ्याएपछि एलिनाको स्टेज डिमाण्ड पनि ह्वात्तै बढेको हो । 

एलिनाको यही गीत सुन्न महोत्सवमा आएका यूवायूवतीले गर्ने विभिन्न खालका क्रियाकलापले पनि सामाजिक संजाल रंगिएको छ । यूवायूवती एलिनाले यो गीत गाउँदा विभिन्न गतिविधी देखाएर भाइरल हुने दौडमा छन् । 

तर, यही बिचमा गायिका चौहान भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नचिनेर ट्रोलको शिकार बनिरहेकी छिन् । 
‘द प्रकाश सुवेदी शो’मा पुगेकी एलिनाले रविको तस्वीरमा भनेकी छिन्–‘उहाँलाई चिन्छु । चर्चा भएपनि उहाँ व्यक्तिगत रुपमा कस्तो मान्छे हो भन्ने मलाई थाहा छैन के ? तर, कस्तो रुपमा चिन्नुहुन्छ भन्दा म कुनै पनि रुपममा चिन्दिनँ ।’
एलिनाले यसो भनेपछि उनी चर्को ट्रोलको शिकार भएकी छिन् । धेरैले उनलाई एक–दुई वटा गीत चलेपछि घमण्डी भएको भन्दै आलोचना गरेका छन् । कतिपयले उनको बोल्ने शैलीमा पनि मजाक बनाएका छन् । 
एलिनाले भने आफूले रवि लामिछानेलाई नै नचिन्ने भनेर अन्तरवार्ता नदिएको बताएकी छिन् । उनले कसरी चिन्नुहुन्छ भन्ने प्रश्नमा मात्र आफूले नभेटेकाले यसरी चिन्छु भन्न नसकेको जवाफ दिएकी छिन् । रवि, समाजसेवी र कुशल पत्रकार भएको भन्दै एलिनाले पुरा अन्तरवार्ता हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेकी छिन् ।