‘प्रेमगञ्ज’ निर्देशकको फिल्म लेखन मोह, फिल्म निर्देशन कहिले गर्ने ?

फिल्म ‘प्रेमगञ्ज’ले बक्स अफिसमा खासै सफलता पाएन । तर, यो फिल्मले सर्वत्र चर्चा भने पायो । यो फिल्मको निर्देशन गरेपछि निर्देशक परिच्छेद सेनले पनि सर्वाधिक चर्चा पाए । उनलाई लिएर फिल्म निर्देशन गर्न निर्माताहरु लालयित पनि छन् । 

तर, परिच्छेदको ध्यान भने फिल्म निर्देशन भन्दा पनि लेखनमा बढी देखिएको छ । पछिल्लो समय उनी अरु निर्देशकको फिल्म लेखनमा सर्वाधिक व्यस्त छन् । 

परिच्छेदले फिल्म ‘भगवत् गीता’को लेखनमा पनि सहयोग गरे  । यो फिल्मको छायांकन सुरु भैसकेको छ । 

उनी, निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘हरियो डुङ्गा’को कथा पनि लेखिरहेका छन् । यो फिल्मको कथा लेखेपछि उनले निर्माता छविराज ओझाको नयाँ फिल्मको कथा पनि लेख्ने तयारीमा छन् । 

परिच्छेदले फिल्म ‘झिंगे दाउँ २’को कथा पनि लेख्ने तयारी गरिरहेका छन् । परिच्छेदलाई फिल्म निर्देशन भन्दा पनि लेखनमा बढी अफर आइरहेको छ । परिच्छेद आफैमा सशक्त निर्देशक हुन् भन्ने पुष्टी उनले फिल्म ‘प्रेमगञ्ज’बाट गरिसकेका छन् । तर, उनको लेखन शैलीलाई समेत मन पराएर देशकै चर्चित ब्यानरबाट उनलाई लेखनमा अफर आइरहेको छ । 

परिच्छेदले आफै फिल्म निर्देशन गर्छन् या अरुको फिल्म लेखेर बस्ने हुन् ? उनको छनक हेर्दा त निर्देशन भन्दा लेखनमा बढी ध्यान दिएको देखिन्छ ।