‘महापुरुष’बाट उदाएका अरुणलाई सिंगो फिल्म बोक्नुपर्ने दबाब


फिल्म ‘महापुरुष’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहँदा यो फिल्मबाट एक जना कलाकार उदाए, अरुण क्षेत्री । 

अरुण क्षेत्रीले फिल्ममा हरिवंश आचार्यको छोराको भूमिका निर्वाहा गरेका थिए । जसलाई दर्शकले अत्याधिक रुपमा मन पराए । उसो त, अरुणले अभिनय गरेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ रिलिज हुनै बाँकी छ । तर, यो फिल्ममा धिरज मगर केन्द्रिय भूमिकामा रहेकाले पनि अरुणमाथि ठूलो दबाब छैन । 

तर, उनै अरुणले अभिनय गरेको अर्को फिल्म ‘प्रेमा’ भने चैत्रको १७ गतेबाट रिलिज हुँदैछ । यो फिल्मलाई निर्देशक गोविन्द सिंह भण्डारीले त्रिकोणात्मक प्रेमकथामा निर्माण गरेका छन् । 

फिल्ममा श्रृष्टी श्रेष्ठ र शुभक्क्षा खड्काको साथमा अरुण केन्द्रमा छन् । अझ, यसो भनौं सिंगो फिल्म बोक्नुपर्ने दबाब उनीमाथि छ । ‘महापुरुष’मा पिताको बिहे गराइदिने छोराको भूमिकामा देखिएका अरुण ‘प्रेमा’मा भने चकलेटी प्रेमीको भूमिकामा छन् । 

अरुण आफूले यो भूमिकालाई दर्शकले मन पराउने तरिकाले निर्वाहा गरेको बताउँछन् । आफूमाथि ठूलो चुनौती भएपनि प्रेमीको भूमिकामा आफू परिवर्तित भएको अरुणको तर्क छ । 

दुई नायिकासँगै एक मात्र नायक देखिदा अरुणमाथि दबाब पक्कै छ । यो दबाबबाट सहजै उम्कन सकेको खण्डमा अरुणको करिअर अझै उकालो लाग्ने निश्चित छ ।