भुवन केसी भन्छन् - ‘बोर्डले भनेको नमान्दा यो स्थीति आयो’

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी फिल्म ‘आदिपुरुष’ का बारेमा मुख खोलेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आदिपुरुषको संवादलाई लिएर काठमाडौँमा सो फिल्म चलाउन नदिने जनाएको प्रसङ्ग जोडदैँ बोर्डले भनेको नमान्दा यो स्थिति आएको पनि उनले जनाएका छन् ।

‘कुनै पनि विदेशी फिल्मलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडी सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो,’ उनले भनेका छन्, ‘विरोधका बाबजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केही चल्तापुर्जाहरूलाई ऐँठन भयो र तीन दिनमा झारियो। तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन।’

उनका अनुसार नेपालमा विदेशी फिल्मको प्रदर्शनी पूर्व त्यस फिल्ममा रहेका विषयमा कुनै विवाद सृजना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरूमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधीनता, हाम्रा विभूतिहरू माथिको दाबी, सीमा लगायत विषयमा त्रुटि वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो । र, नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचान समेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेको मध्ये एक केही दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो,’ उनले भने ।

भारतको बहुप्रतिक्षित फिल्म आदिपुरुषका बारेमा उनले भनेका छन्, ‘पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद सृजना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाइदा गरेको छैन। यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरूकै प्रमुख हात छ।’

‘यस प्रकारको घटनाले भोली हल सञ्चालकहरूमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्‍यो भने आखिरमा कसलाई घाटा भयो ?’ उनले भनेका छन्, ‘तसर्थ, बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भए आज यो दिन आउने नै थिएन,’ उनले भने ।