भुवन केसी भन्छन्–‘बोर्ड स्वायत्त नहुँदा हाम्रो मुखमा ताल्चा लाग्यो’


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त नहुँदा कुनै पनि बिषयमा बोल्न नपाएको गुनासो गरेका छन् । 

देशभर फिल्म ‘आदिपुरुष’को चर्को विरोध भैरहँदा चलचित्र विकास बोर्डले केही पनि बोल्न सकेको छैन । विकास बोर्डले ‘आदिपुरुष’को संवाद सच्याउनका लागि पहल गर्ने भन्दै केही दिन अगाडि विज्ञप्ती मात्र निकालेको थियो । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको रिलिज रोकेसँगै  उनको सर्वत्र चर्चा भैरहेको छ । तर, यसमा चलचित्र विकास बोर्डले केही पनि गर्न नसकेको भन्दै चर्को आलोचना पनि भैरहेको छ । 

यस बिषयमा भुवनले भने–‘सबैले यस बिषयमा विकास बोर्डले केही पनि गरेन, बोर्ड किन मौन भनेर आलोचना गरिरहनुभएको छ । तर, विकास बोर्ड स्वायत्त नहुनुको असर सधै देखिएको छ । मैले बारम्बार विकास बोर्ड स्वायत्त हुनुपर्छ भन्दै आएको छु । यदि, विकास बोर्डले हलहरुलाई पत्र काटेर ‘आदिपुरुष’ रोक्न भनेको भए कसैले पनि नटेर्ने अवस्था छ । किनकी, हामीसँग त्यस्तो कुनै शक्ति नै छैन । विकास बोर्ड स्वायत्त नभएसम्म यो संभव पनि छैन ।’

अध्यक्ष केसीले चलचित्र सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड फरक भएको वुझ्न पनि सबैलाई आग्रह गरे । चलचित्र सेन्सर बोर्डलाई पनि विकास बोर्डबाट निर्देशित हुने गरि स्वायत्त बनाउनुपर्ने भुवनको तर्क छ । 

भुवनले आफूले फिल्म सेन्सरका लागि दुई साता अगाडि नै सम्पूर्ण कागजपत्र पेश गर्नुपर्ने नियम ल्याउँदा चर्को विरोध भएको भन्दै अहिले त्यसको महत्व झल्किएको दाबी गरे । उनले भने–‘मैले विकास बोर्डमा जाने वित्तिकै यस्तो नियम ल्याउँदा सबैले विरोध गरे । अहिले, ती व्यक्तिहरु किन मौन छन् ?’