सामाग्रीसँग हारे भुवन केसी

अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी आरएल शाहविरुद्धको मुद्दा हारेका छन् । 

जिल्ला अदालत काठमाडौंले बुधबार चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका भुवनले हालेको मुद्दामा साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो। 

भुवनले साम्राज्ञीविरुद्ध गाली बेइज्जती मुद्धा दायर गर्दै १० करोडको क्षतिपूर्ति माग गरेका थिए । तर यो मुद्धामा जिल्ला अदालत काठमाडौंले दाबी नपुग्ने फैसला गरेको छ ।

केसीले २०७७ साउन ९ गते साम्राज्ञीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका हुन् । 

न्यायाधीश वासुदेव पौडेलको इजलासले बुधबार साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख गरिएको छ। यो मुद्धा चलिरहँदा नेपाली फिल्ममा नेपोटिजमको बहस उठेको थियो ।

वाक युद्धमा उत्रिएका केसी र शाहलाई मेलमिलाप गराउने अदालतको प्रयास सफल नभएपछि नियमित सुनुवाइको प्रक्रियामा गएको अदालतको इजलासले बुधवार केसीको दाबी नपुग्ने फैसला गरेको गरेको हो। 

साम्राज्ञीले सामाजिक सञ्जालमार्फत तीन वर्षअघि सुटिङका क्रममा भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै आरोप लगाएकी थिइन्।कोरोनाकालमा साम्राज्ञीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दै नेपाली चलचित्र उद्योगमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको सार्वजनिक गरेकी थिइन्।

केसीले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए । त्यसपछि साम्राज्ञीले थप आरोपसहित नाम खुलाइन्। शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । एक अवार्ड कार्यक्रममा सहभागी हुन जापान जाँदा केसीले आफूसँग गाला जोडेर बोल्न खोजेको, अङ्कमाल गरेर ह्यारेस गरेकोु उनको आरोप थियो।

जिल्लाको फैसलामा चित्त नबुझे भुवनपक्ष उच्च अदालतमा पुनरावेदन जाने कानुनी बाटो भने खुला छ।