जताततै स्वस्तिमा


नायिका स्वस्तिमा खड्का भाद्र महिनाबाट निरन्तर मिडियामा छिन् । भाद्र महिनामा रिलिज भएको फिल्म ‘एैँचो पैँचो’का कारण उनी प्रमोशनमा निकै व्यस्त भइन् । यो फिल्मको प्रमोशनमा स्वस्तिमा काठमाडौं र काठमाडौं बाहिर कुदिन् । मिडियामा खुबै देखिइन् । फिल्मको प्रमोशन सामाग्री रिलिज कार्यक्रममा भेटिइन् ।

यो फिल्म रिलिज सकिने वित्तिकै उनलाई फेरि फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को प्रचारमा व्यस्त हुनु परेको छ । उनले मिडियासँग हप्ता दिन पनि टाढा हुन पाएकी छैनन् । यसले, स्वस्तिमा खड्कासँग अब त बोल्ने कुराहरु पनि सकिएका छन् । 

यो फिल्मको प्रचार भैरहँदा उनलाई आफ्नै श्रीमान् निश्चल बस्नेतको निर्देशनमा बनेको फिल्म ‘दिमाग खराब’को पनि प्रमोशन गर्नु परेको छ । गतसाता मात्र उनी यो फिल्मको गीत रिलिज कार्यक्रममा देखिइन् । ३ फिल्म ३ महिनाको अन्तरमा रिलिज हुँदा स्वस्तिमाले ब्रेक लिने फुर्सद नपाएकी हुन् । जसलेगर्दा, उनीसँग मिडियामा भन्नुपर्ने कुरा नै सकिएका छन् । 

स्वस्तिमाको फिल्म रिलिजको सेड्यूल कही कतै नमिलेको देखिन्छ । किनकी, कुनै समय फिल्म नै लामो समय नआउने फेरि रिलिज हुन थालेपछि ३ महिनामा ३ वटा फिल्म रिलिज हुने अवस्थाले उनलाई अप्ठ्यारो परेको छ । निरन्तर ५ वटा फ्लप फिल्म दिएकी स्वस्तिमालाई दशैं र तिहारमा रिलिज हुन लागेको २ प्रतिक्षित फिल्मले राहत दिने अपेक्षा गरिएको छ ।